इन्फो नेपाल — सञ्चारको सञ्जाल

भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोरमा जाने सडक ओभरलोडले भत्किँदै

  सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडक भत्किन थालेको छ । बेलहिया नाका हुँदै भित्रिने गाडीले ८० टनसम्म सामान बोकेर आउने भएकाले औद्योगिक कोरिडोरको सडक भत्किएर नाजुक अवस्गामा पुगेको नेपाली यातायात व्यवसायीले बताएका छन् । ओभरलोडका कारण भैरहवा–परासी कोरिडोरको दर्जनौ स्थानमा भत्किएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तीन वर्षअघि बढी भारबहन बोकेका सवारीसाधन भित्रिन नदिन अभियान नै चलाएको थियो । 'हामीले व्यापक रुपमा अभियान चलाउँदा पनि बेलहिया नाका हुँदै भित्रिने गाडी निर्वाधरुपमा औद्योगिक क्षेत्रसम्म पुग्ने र जसका कारण सडक जीर्ण अवस्थामा पुगेको छ,' समितिका पूर्वअध्यक्ष लोकराज पोखरेलले भने । व्यवसायीले विगतमा आफै जम्मा भएर बाइपास सडकमा रहेको धर्मकाँटामा ओभरलोड लिएका गाडीलाई रोकेका थिए । 'गाडी रोकेर आन्दोलन गर्दा पनि समस्या समाधान भएन,' पोखरेलले भने । भारतबाट ओभरलोड सामान आए भन्सारमै पोल्ट्री गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसलाई कुनै पनि निकायले कार्यान्वयनमा ल्याएका छैनन् । भन्सारका एजेन्टले भारतीय ट्रकबाट रकम असुली गरी भन्सारको मिलेमतोमा पोल्ट्री हुने सामान पनि नगराई नेपाल प्रवेश गराउने गरेका छन् । नेपालमै सबैभन्दा बढी ओभरलोडका सामान भैरहवा भन्सार हुँदै भित्रिने गरेको नेपाली यातायात व्यवसायीको दाबी छ । यातायात सम्बन्धी प्रचलित कानुन अनुसार छ चक्के ट्रकले १० टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् । तर, क्षमता भन्दा दोब्बर भार बोक्ने गरेको पोखरेलको भनाइ छ । भार मिलानसम्बन्धी कार्यविधि २०७१ मा आयातित सामानको हकमा भारवहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सारले इजाजत दिनुपर्ने व्यवस्था छ । तोकिए बमोजिम बढी भारबहन गर्नुपर्ने सामग्रीको हकमा सम्बन्धित यातायात कार्यालयको स्वीकृतिमा मात्र भन्सारले ढुवानी इजाजत दिनुपर्ने तथा भार छुटाउन नसकिने उल्लेख छ । तर, यो नियम कार्यान्वयनमा बेबास्ता गरिँदै आएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले कतिपय ओभरलोड बोकेर भित्रिएका गाडीमा सामान पोल्ट्री गर्न नमिल्ने र त्यस्ता गाडी औद्योगिक क्षेत्रसम्म सिधै पुग्ने गरेको बताउँदै सामान पोल्ट्री गर्न सकिने ट्रकलाई भने पोल्ट्री गराएर मात्र छाड्ने गरिएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी कृषिराम तिवारीले सरोकारवालाको बैठक बसेरै ओभरलोड नियन्त्रणका लागि पहल गर्ने निर्णय भएको र सोही अनुसार प्रगति पनि भएको बताए । 'अहिले ट्राफिक प्रहरीले ठाउँठाउँमा ओभरलोड नियन्त्रणका लागि चकजाँच बढाएको अवस्था छ, भन्सारबाट भित्रिएका गाडीलाई त्यत्तिकै छाडिएको छैन,' उनले भने । ओभरलोडकै कारण भैरहवा-लुम्बिनी सडक पनि बनेको ६ महिना नहुँदै भत्किन सुरु गरेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा ५० टनभन्दा बढी भार बोकेका ट्रक गुड्दा सडक नै भत्किन थालेको यातायात व्यवसायीहरु बताउँछन् । रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक चारसय मालबाहक गाडी भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी गाडीले ओभरलोड बोक्ने गरेको पाइएको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले अधिकांश गाडीले औद्योगिक सामान बोकेर आउने र धेरैमा बढी भारबहन पाइएको भन्दै हालसम्मको अनुगमनमा सडक भत्कनुको मुख्य कारण ओभरलोड नै देखिएको बताए ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क