इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा आजदेखि सरसफाइ सप्ताह, सरकारी कार्यालय र बजारमा संयुक्त अनुगमन हुने

हेटौँडा । मकवानपुर प्रशासनले आज सोमबारदेखि जिल्लाभरका सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानलाई लक्षित गर्दै सरसफाइ तथा उपभोक्तामैत्री सेवा अभियान सुरु गर्ने भएको छ । ‘राष्ट्रिय सरसफाइ सप्ताह–२०८३’ अन्तर्गत सरकारी कार्यालयको ५१ सूचकका आधारमा अनुगमन गरिनुका साथै होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानमा मूल्य सूची अनिवार्य रूपमा राखिएको छ वा छैन भन्ने विषयमा पनि विशेष निगरानी थालिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार एक सातासम्म बजार अनुगमन सञ्चालन गरी होटल, चिया पसल, किराना पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानमा स्पष्ट मूल्य सूची टाँसिएको छ कि छैन भन्ने हेरिनेछ । “होटल, प्रतीक्षालय, रेस्टुरेन्ट र व्यापारीहरूले मूल्य सूची राखेको छ कि छैन भन्ने विषयमा आजबाटै अनुगमन सुरु हुन्छ,” उनले बताए । प्रशासनले मूल्य सूची नराख्ने तथा उपभोक्तालाई भ्रममा पार्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।

प्रशासनका अनुसार उपभोक्ताले वस्तु तथा सेवाको मूल्यबारे स्पष्ट जानकारी नपाउँदा बजारमा मनपरी शुल्क लिने र उपभोक्ता ठगिने गुनासो बढेपछि अभियान सुरु गरिएको हो । नेपाल सरकारले मूल्य सूची अनिवार्य राख्नुपर्ने सम्बन्धी कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै उनले मकवानपुरमा त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताए ।

यसैबीच, आज सोमबारदेखि १ जेठसम्म सञ्चालन हुने राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत मकवानपुरका सबै सरकारी कार्यालयमा बिहान साढे ८ बजेदेखि सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारी कार्यालयलाई ५१ वटा सूचकका आधारमा मूल्यांकन गरी ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिनेछ । मूल्यांकनमा कार्यालय सरसफाइ, ट्वाइलेट व्यवस्थापन, स्वच्छ खानेपानी, हेल्प डेस्क, सेवाग्राहीसँगको व्यवहार, फोहर व्यवस्थापन तथा बिचौलियाको प्रवेश नियन्त्रणजस्ता विषय समावेश गरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन–२०८३’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकाय तथा अस्पतालमा एकसाथ अभियान सञ्चालन गरिनेछ । मार्गनिर्देशनमा कार्यालय सरसफाइ, शौचालय तथा स्वच्छता, सार्वजनिकस्थलको सफाइ, क्यान्टिन तथा भान्साघरको स्वच्छता, फोहर व्यवस्थापन र सेवाग्राही अनुभव सुधारसम्बन्धी सूचक अनिवार्य कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

सरसफाइ सप्ताह केवल बाहिरी सफाइको कार्यक्रम नभई सरकारी कार्यालयभित्रको समग्र सेवा वातावरण सुधार गर्ने अभियान भएको प्रजिअ बसन्त अधिकारी बताए । “सेवाग्राही आउने कार्यालयमा ट्वाइलेट फोहोर हुनुहुँदैन । कार्यालय प्रमुख आफैंले ट्वाइलेटको अवस्था हेर्नुपर्छ,” उनले भने, “कार्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित प्रतीक्षालय, हेल्प डेस्क र नागरिकमैत्री वातावरण हुनुपर्छ ।”

सीडीओ अधिकारीका अनुसार जिल्लाका सरकारी कार्यालयमा ‘इम्प्लोई अफ द मन्थ’ कार्यक्रम पनि सञ्चालन गरिनेछ । सेवाग्राहीसँगको व्यवहार, इमान्दारिता र सेवा प्रवाहका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरी कार्यालयको हेल्प डेस्कमा तस्वीर राखिने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । उहाँले सरकारी कर्मचारी अझै पनि ‘शासकीय मानसिकता’ बाट पूर्ण रूपमा बाहिर ननिस्किएको टिप्पणी गर्दै सेवा प्रवाहमा व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो । “हामी शासक होइनौं, जनताका सेवक हौं,” उहाँले भन्नुभयो, “जनताको मुहारमा खुसी दिन सक्यौं भने त्यो नै सबैभन्दा ठूलो सेवा हो ।” सीडीओ अधिकारीले सेवाग्राहीलाई पनि आवश्यक कागजात र प्रक्रिया बुझेर कार्यालय आउन आग्रह गर्दै कर्मचारीबाट अनावश्यक दुःख, अतिरिक्त लाभ माग्ने वा झन्झट सिर्जना गर्ने काम भए सम्बन्धित कार्यालय प्रमुख वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते