इन्फो नेपाल — सञ्चारको सञ्जाल

७० बर्ष देखी खानेपानीको समस्या जस्ताको त्यस्तै !

ढोरपाटन: जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् । विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाउने भएका छन् । बागलुङ नगरपालिका–५ मा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् । दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिन्न । स्थानीयले यो समस्या सरोकारवाला निकायलाई नसुनाएका भने होइनन् । पटक–पटक खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् । खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्यासमेत बढ्दै गएको स्थानीयको भनाइ छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म अतिआवश्यक पर्ने पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय पार्वती शर्माले बताईन । आफ्नो घर नजिक विद्यालय रहेको र विद्यार्थीहरू तिर्खाएर आउँदासमेत उनीहरूलाई पिलाउन नसक्दा दुःख लागेको उनि बताउछिन । “अरु ठाउँमा खानेपानीको समस्या छैन, यही हो बेस्सरी गाह्रो भएको, स्कुलका केटाकेटी काकाकुल भएर आउँछन्, दिउँसो १ बज्यो भने तिर्खा लाग्यो भन्दै आउँछन्, यही आएर झुम्मिन्छन्, उनीहरू सबैलाई पानी खुवाउन सकिँदैन, बिहान भरेको एक गाग्री पानीले गाह्रो हुन्छ, पानीको दुःखका कारण गाउँ नै रित्तिन थाल्यो”, शर्माले सुनाईन । शर्माले खेतीयोग्य जमिन भए पनि पानीको अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउनसमेत नसकिने अवस्था रहेको बताईन । मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत रहेको उनको भनाइ छ । खानेपानीको सहज उपलब्धता हुने भए बसाइँसराइ रोकिन सक्ने शर्मा बताउछिन । ७० बर्ष देखी खानेपानीको समस्या करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा खानेपानीको समस्या परिरहेको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए । उनि भन्छन, “गाउँमा यति ठूलो स्कुल छ, धेरै विद्यार्थी पढ्छन्, ३५ भन्दा धेरै घरका स्थानीयले खानेपानीको समस्या भोगेका छन्, म सानो हुँदा यो गाउँमा खानेपानीको समस्या यस्तै थियो, अहिले पनि उस्तै छ, गाउँमा पानी ल्याउन कसैको ध्यान गएन, हामीहरू धेरै पीडित छौँ ।” धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउछन । उनले पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने भन्दै भरेको पानीले पिउन पनि नपुग्ने हुँदा सरसफाइमा धेरै समस्या परेको बताउछन । बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्माले यहाँ खानेपानीको समस्या समाधानका लागि खानेपानी योजना अन्तिम चरणमा पुगेको बताए । विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट कम पर्दा योजना सम्पन्न हुन लामो समय लागेको बताए । उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ र पाइप लाइन खन्ने बाँकी रहेको अध्यक्ष शर्माको भनाइ छ । उनि भन्छन, “लामो समयदेखिको खानेपानी समस्या समाधानका लागि सात वर्ष अगाडि सुरु भएको योजना अहिलेसम्म सम्पन्न भएको छैन, अब चाँडै यो योजना सम्पन्न गरेर खानेपानीको समस्या समाधान हुनेछ, पाइप लाइनको काम गर्नुपर्ने छ, स्थानीयले सक्रियता देखाउनु भएन, तीव्रगतिमा काम भयो भने छिट्टै सबैको घर–घरमा पानी आउने छ ।” बागलुङ नगरपालिका ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियानमा जुटेको छ । लामो समयदेखि सिङ्गो गाउँसहित विद्यालय नै खानेपानीको समस्यामा परेको हुँदा यसको समाधान नभएसम्म ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियान चुनौतीपूर्ण हुने स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क