हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा सम्मानित भएको छ।
प्रधानाध्यापक संघ नेपालले आयोजना गरेको तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ का अवसरमा सातै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट माध्यमिक विद्यालयमध्ये बागमती प्रदेशबाट जनप्रिय मावि सम्मानित भएको हो।
विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका तर्फबाट सम्मान ग्रहण गरेका हुन् ।
जनकपुरधाममा आयोजित सम्मेलनमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उत्कृष्ट विद्यालयका प्रतिनिधिहरूलाई सम्मान प्रदान गरेका थिए। विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापकीय क्षमता तथा सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
सम्मेलनमा कोशी प्रदेशबाट पाँचथरको फिदिम माध्यमिक विद्यालय, मधेस प्रदेशबाट धनुषाको जनता नमुना माध्यमिक विद्यालय, गण्डकी प्रदेशबाट तनहुँको पञ्चदेव मुनि माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशबाट गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालय, कर्णाली प्रदेशबाट सुर्खेतको त्रिपुरेश्वर माध्यमिक विद्यालय र सुदूरपश्चिम प्रदेशबाट दार्चुलाको मालिकार्जुन माध्यमिक विद्यालय पनि उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा सम्मानित भएका छन्।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ। सम्मेलनमा विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास, डिजिटल सिकाइ र नीतिगत सुधारका विषयमा छलफल भइरहेको छ।