हेटौँडा । हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि मोटरसाइकलबाट खसेर सर्लाहीको बरथवा नगरपालिका–१५, पिपराभित्ता बेलटोलका २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दिउँसो करिब १२ः३५ बजे बसपार्कबाट थानाभर्याङतर्फ जाँदै गरेको ना५४प ८३२७ नम्बरको मोटरसाइकलमा पछाडि सवार विश्वकर्मा अचानक खसेका थिए।
मोटरसाइकलबाट खसेर घाइते भएका उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको केही समयमै दिउँसो १२ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल चलाउने व्यक्ति मृतकका भतिजा नाता पर्ने १६ वर्षीय आकृत विश्वकर्मा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए। उनी सर्लाहीको बरथवा–१५ घर भई हाल हेटौँडा–११, थानाभर्याङमा बस्दै आएका थिए।
मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ। मोटरसाइकलबाट खस्नुको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।