हेटौँडा | बागमती प्रदेश सरकारले आगामी साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ। मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीका अनुसार सो दिन बागमती प्रदेशभित्रका सबै सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघ–संस्थाहरू बन्द रहनेछन्।
प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा गाईजात्रालाई सार्वजनिक बिदा दिने व्यवस्था उल्लेख गरिएको छ। यसअघि २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्रासहित चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, जसलाई ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार कार्यान्वयनमा ल्याइएको हो।
गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने, हास्य–व्यंग्य प्रस्तुत गर्ने र सामाजिक सन्देश दिने परम्परा रहिआएको छ। गाईजात्रा नेपाल संवतअनुसार गुंलागाः पारू (जनैपूर्णिमाको भोलिपल्ट) अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन मनाइन्छ।



