काठमाडाैँ । नेपाल आयल निगमले देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज र नियमित बनाउन ग्यास उद्योगहरूलाई आयात, भण्डारण र वितरणका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज एक परिपत्र जारी गर्दै बजारको मागअनुसार ग्यासको आयात अधिकतम बढाउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न आग्रह गरेको हो ।
यस्तै भन्सार नाकामा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा बिक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत निगमले उद्योगहरूलाई निर्देशन दिएको छ ।
आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरणबीचको प्रभावकारी समन्वयले आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिने र बजार व्यवस्थापन थप व्यवस्थित हुने निगमको विश्वास छ ।
यसैबीच निगमले आमउपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना हुने खालका गतिविधिमा संलग्न नहुन विशेष अनुरोध गरेको छ ।


