चितवन । सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने र स्वदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुने भएको हो।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले घरजग्गा कारोबारमा आएको मन्दी कम गर्दै व्यवसायी, लगानीकर्ता र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए।
नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः लयमा फर्काउन र आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
एक्स्पोमा आधुनिक घर निर्माण सामग्री, प्रविधि, आवास परियोजना तथा निर्माण कम्पनीका सेवा प्रदर्शन गरिनेछन्। साथै, भवन निर्माणसम्बन्धी सरकारी मापदण्ड, सुरक्षा, गुणस्तर र लागत व्यवस्थापनबारे विज्ञहरूबाट परामर्शसमेत उपलब्ध गराइनेछ।
आयोजकका अनुसार एक्स्पोमा ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् भने करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। एक्स्पोले स्वदेशी लगानी आकर्षित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र चितवनसहित अन्य जिल्लामा निर्माण व्यवसायको सम्भावना विस्तार गर्ने लक्ष्य राखेको छ।
इच्छुक व्यवसायीका लागि स्टल बुकिङ खुला गरिएको छ भने सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।