हेटाैँडा।मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरस्थित एक घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय प्रकाश बलको काठले बनेको तथा खरले छाएको दुईतले घरमा आज (मंसिर ६ गते) बिहान करिब ७ बजे आगलागी भएको हो।
प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगो खेल्ने क्रममा अचानक सल्किएर आगलागी भएको थियो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासमेत जलेका छन्।
घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सक्रियतामा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट गरगरेबाट प्रहरी टोली घटनास्थलमा खटिएर क्षतिको विवरण संकलन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।