इन्फो नेपाल — सञ्चारको सञ्जाल

विपद्को जोखिम देखिए मोबाइलमै बज्नेछ साइरन, स्वदेशमै बन्यो प्रविधि

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका नागरिकलाई मोबाइलमार्फत तत्काल चेतावनी दिने प्रविधि नेपालमै विकास गरिएको छ। सरकारले विकास गरेको ‘सेल ब्रोडकास्ट प्रणाली’को प्रारम्भिक प्राविधिक परीक्षणसमेत सफल भएको छ।

गृह मन्त्रालयको पहल तथा सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा विकसित उक्त प्रणालीको सोमबार नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण केन्द्रमा परीक्षण गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा गरिएको परीक्षणमा ३४० वटा मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सफल भएको छ।

यो प्रविधि कार्यान्वयनमा आएपछि सरकारले विपद्को जोखिम रहेको निश्चित भौगोलिक क्षेत्र पहिचान गरी त्यहाँ रहेका नागरिकको मोबाइलमा एकैपटक आपत्कालीन सूचना पठाउन सक्नेछ।

सामान्य एसएमएसभन्दा फरक रहेको यो प्रविधिमा सूचना पठाउन व्यक्तिगत मोबाइल नम्बर आवश्यक पर्दैन। मोबाइलमा इन्टरनेट नभए पनि नेटवर्कको सिग्नल उपलब्ध भएमा सेल ब्रोडकास्ट सुविधा भएका मोबाइलले चेतावनी प्राप्त गर्न सक्छन्।

जोखिमयुक्त क्षेत्रमा रहेका मोबाइलमा विशेष साइरन बज्ने, भाइब्रेसन हुने र स्क्रिनमा चेतावनीसहित सुरक्षाका लागि अपनाउनुपर्ने उपाय देखिने व्यवस्था गर्न सकिनेछ।

यसबाट सम्बन्धित क्षेत्रमा बसोबास गर्ने नागरिकसँगै विदेशी पर्यटक तथा अस्थायी रूपमा त्यहाँ पुगेका व्यक्तिले समेत सूचना प्राप्त गर्न सक्नेछन्।

गृह मन्त्रालयका विपद् व्यवस्थापन सल्लाहकार प्रदीप खतिवडाका अनुसार नेपाली प्राविधिकहरूको स्वैच्छिक योगदानमा यो प्रणाली विकास गरिएको हो। हालसम्मको विकास तथा परीक्षणमा सरकारी बजेट खर्च नभएको उनले बताएका छन्।

नेपाल टेलिकमको टुजी नेटवर्कमा प्रारम्भिक परीक्षण सफल भएपछि अब फोरजी नेटवर्कमा समेत परीक्षण गरिनेछ। त्यस्तै, पोखराबाट एनसेलको नेटवर्कमा परीक्षण सुरु गर्ने तयारी छ।

बाढी, पहिरो, हिमताल विस्फोट, डढेलो तथा प्रतिकूल मौसमबाट उत्पन्न जोखिमका बेला नागरिकलाई समयमै सचेत गराउँदै जनधनको क्षति न्यूनीकरण गर्न यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रारम्भिक परीक्षण सफल भए पनि प्रणाली पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन। थप प्राविधिक परीक्षण र आवश्यक कार्यसञ्चालन निर्देशिका तयार गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सरकारको योजना छ।

सम्बन्धित समाचार

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते