देशबागमती प्रदेशबागमतीका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को हुन् ?

बागमतीका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को हुन् ?

हेटौँडा | नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ अहिले बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साउन २० गते संविधानको धारा १६८(२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी जम्मा ६४ सांसदको समर्थनमा उनले सहज बहुमत सुनिश्चित गर्दै सत्ता सम्हालेका हुन्। यो पद पाउन उनी आफ्नै दलभित्र अविश्वास प्रस्तावमार्फत संसदीय दलको नेतृत्व परिवर्तन गरेर अघि बढेका थिए।

२०२७ साल भदौ १५ गते मकवानपुरको हर्नामाडी–४, दियावतीमा जन्मिएका बानियाँ स्व. क्षेमबहादुर बानियाँ र प्रेमकुमारी बानियाँका पुत्र हुन्। हाल उनी हेटौँडा–५ सानो पोखरा र ललितपुरको धापाखेलमा बस्छन्। विद्यार्थी जीवनमै उनी राजनीतिप्रति आकर्षित भए र ०४४ सालतिरै सक्रिय राजनीतिमा होमिए। ०४६ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस उपसभापति बनेपछि उनको राजनीतिक यात्रा अघि बढ्यो। त्यसपछि क्रमशः कांग्रेस महाधिवेशन प्रतिनिधि, नेविसंघ मकवानपुर जिल्ला सहसचिव, नेपाल तरुण दल मकवानपुरका सचिव हुँदै अध्यक्ष बने। यही यात्राले उनलाई जिल्लाको युवा नेताको रूपमा स्थापित गर्‍यो।

कांग्रेस संगठनभित्र जिम्मेवारी बढ्दै गएपछि ०५६ सालदेखि निरन्तर पार्टीको महासमिति सदस्य बनेका बानियाँले ०५८ सालमा जिल्ला समिति सदस्यको जिम्मा पाए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी मकवानपुर–१ बाट उम्मेदवार बने तर पराजित भए। तर २०७० सालमा त्यही क्षेत्रबाट प्रत्यक्षतर्फ संविधानसभा सदस्य निर्वाचित हुँदै राष्ट्रिय राजनीतिको मुख्यधारमा प्रवेश गरे। सोही निर्वाचनपछि उनले पार्टी र संसदमा प्रभावशाली भूमिका खेल्न थाले।

सरकारमा पनि उनी प्रवेश गर्ने मौका पाए। २०७३ मंसिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका बानियाँ केही महिनापछि गृह राज्यमन्त्री बने। केन्द्र सरकारको मन्त्रीसम्मको यात्रापछि संघीयता लागू भएपछि उनी प्रदेश राजनीतिमा केन्द्रित भए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा मकवानपुर–२ ‘ख’ बाट १९ हजारभन्दा बढी मत ल्याएर एमाले उम्मेदवारलाई पराजित गर्दै प्रदेशसभा सदस्य बने। प्रदेशसभामा प्रवेश गरेलगत्तै उनी कांग्रेस संसदीय दलको नेता निर्वाचित भए र पाँच वर्ष प्रमुख प्रतिपक्षको भूमिकामा रहे।

२०७८ मा उनी कांग्रेस बागमती प्रदेश सभापति निर्वाचित भए। यसरी संगठन र संसद दुबैमा बलियो पकड कायम गरेका बानियाँ २०७९ सालमा पुनः मकवानपुर–२ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भए। तर २०८१ मा भएको संसदीय दल नेताको निर्वाचनमा उनी आफ्नै सहकर्मी बहादुरसिंह लामासँग पराजित भए। लामाले दलको नेतृत्व सम्हाले पनि लामो समय टिक्न सकेनन्। बानियाँले साउन ९ गते लामा विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे, साउन १३ मा प्रस्ताव पारित भयो र साउन १५ मा भएको निर्वाचनमा बानियाँ पुनः दलको नेता निर्वाचित भए। यसरी दलभित्रै सत्ता समीकरण बदलिँदा उनी मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

साउन २० मा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेलगत्तै बानियाँले पद तथा गोपनीयताको शपथ लिए। सोही दिन एमालेका ६ जना र कांग्रेसका २ जना मन्त्रीसमेत नियुक्त भई मन्त्रिपरिषद गठन भयो। कांग्रेसभित्र आन्तरिक किचलोका कारण बाँकी मन्त्री नियुक्ति रोकिएको छ।

बानियाँले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो लामो राजनीतिक यात्रामा जिल्लादेखि केन्द्र र अहिले प्रदेशसम्मको नेतृत्व सम्हालिसकेका छन्। काँग्रेस संगठनमा समय–समयमा चुनौतीहरू खेप्दै पनि उनी लोकप्रिय नेता बनेका छन्। अहिले उनले नेतृत्व गर्ने गठबन्धन सरकारले स्थायित्व कायम गर्दै विकास र सुशासनमा परिणाम देखाउने दबाब छ। बानियाँले शपथ ग्रहणपछि प्रदेशमा दलगत सन्तुलन कायम गरेर जनतामुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको बानियाँको यात्रा अहिले बागमती प्रदेशको सर्वोच्च कार्यकारी पदसम्म पुगेको छ। अबको चुनौती भनेको सत्ता गठबन्धनलाई स्थिर राख्दै प्रदेशको विकास, सुशासन र जनताका अपेक्षाअनुरूप परिणाम देखाउनु हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img