हेटौँडा | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजको समग्र उत्थान तथा स्थानीय तहमा सुशासन कायम गर्न नवीन सोच र योजनाका साथ अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।
मंगलबार हेटौँडा उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गरे। उनले बालबालिकाको सर्वांगीण विकासका लागि गुणस्तरीय शिक्षा अत्यावश्यक रहेको उल्लेख गर्दै, हेटौँडा उपमहानगरपालिकालाई स्थानीय निकायको मापदण्डअनुसार आगामी केही महिनाभित्रै महानगरपालिकामा रूपान्तरण गर्ने सरकारको योजना रहेको स्पष्ट पारे।
समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले हेटौँडालाई आधुनिकीकरण गर्दै नगर क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरू जिम्मेवार हुनुपर्ने बताए। उनले हेटौँडा उपमहानगरपालिकाले नागरिकहरूलाई छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय निकायका संरचनालाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।
यसै अवसरमा बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशका बहु-वर्षीय योजना, दिगो विकासका लागि स्थानीय तहलाई आवश्यक योजना, बजेट तथा प्राविधिक सहायता उपलब्ध गराउने सरकारको प्रतिबद्धता पुनः दोहोर्याए। उनले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै स्वावलम्बी, कर्तव्यनिष्ठ तथा राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउन सकेमा समाजमा सुशासन कायम गर्न सहज हुने बताए।
प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले हेटौँडा उपमहानगरपालिकाले घोषणा गरेको बालमैत्री शासनयुक्त नीति दिगो रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधिहरूको क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे। त्यस्तै, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले बालबालिकाको समृद्धि, उच्च शिक्षाको अवसर, खेलकुद, सांस्कृतिक गतिविधिमा उनीहरूको संलग्नता वृद्धि गर्न सके सुशासन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकलाल श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायतले आफ्ना विचार राख्दै स्थानीय तहअन्तर्गतका विद्यालयहरूले बालमैत्री मापदण्डअनुसार विशेष सुविधा उपलब्ध गराउँदै लैजान सके समाजको दीर्घकालीन उत्थानमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।
कार्यक्रमको क्रममा उपप्रधानमन्त्री सिंहले बालमैत्री गीति क्यासेटको शुभारम्भ गरेका थिए भने कार्यवाहक मुख्यमन्त्री श्रेष्ठले हेटौँडा उपमहानगरपालिकाद्वारा आयोजित विभिन्न टोल विकास समिति, शैक्षिक संस्थालाई प्रमाणपत्र वितरण गरेका थिए।
यो अवसरमा हेटौँडा उपमहानगरपालिकाले स्थानीय सरकारको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै भविष्यमा नगरपालिकालाई महानगरको रूपमा उन्नत गराउने लक्ष्यसहित विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।



