देशकोशी प्रदेशपूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्ड स्तरोन्नति तीव्र

पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्ड स्तरोन्नति तीव्र

कोशी । पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्डमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको यो परियोजनामा १०२७ किलोमिटर लामो सडक चौडा बनाइँदैछ, जसलाई २०८३ साल माघ १९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नयाँ सडक योजनाअनुसार सहरी क्षेत्रमा छ लेन तथा अन्य क्षेत्रमा चार लेनसहित सर्भिस लेन र डिभाइडर रहनेछ। सडकको चौडाइ २४ देखि ५० मिटरसम्म कायम गरिनेछ भने अधिकार क्षेत्र २५-२५ मिटर निर्धारण गरिएको छ। परियोजनाका प्रमुख जगत प्रजापतिका अनुसार हाल घर तथा विद्युत् पोल हटाउने कार्य तीव्र रूपमा जारी छ।

सहरी क्षेत्र उर्लाबारी र दमक आसपासका स्थानहरूमा फ्लाइओभर निर्माण गरिने भएको छ। झापाको केरखादेखि मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक निर्माणका लागि १३ अर्ब रुपैयाँको बजेट छुट्याइएको छ। ४६ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यो सडक परियोजना २०२३ को अक्टोबर १९ बाट सुरु गरिएको थियो। निर्माण सम्पन्न भएपछि १२ महिनासम्म पुनःमर्मतको समय तोकिएको छ।

यस सडक विकाससँगै खानेपानी, पुल, कल्भर्ट जस्ता पूर्वाधार निर्माण भइरहेको छ। तर, सडक विस्तारको क्रममा रुख कटान भएपछि वातावरणीय असर देखिन थालेको छ। हरियाली गुम्दै जाँदा राजमार्ग क्षेत्रमा उजाड दृश्य देखिन थालेको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाले हरियाली पुनःस्थापना गर्न उपयुक्त योजना लागू गर्नुपर्ने माग गरिरहेका छन्। उर्लाबारी ४ का वडाध्यक्ष कल्याणकुमार राईका अनुसार, पुनःहरियाली योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिए यात्रु र स्थानीय दुवैलाई फाइदा पुग्नेछ।

सडक विस्तारका क्रममा घर भत्काइएका परिवारहरूका लागि उचित क्षतिपूर्ति वितरण गर्ने योजना रहेको बताइएको छ। स्थानीयहरूले क्षतिपूर्तिको प्रक्रिया छिटो पार्न माग गरिरहेका छन्। विकास परियोजनाले यात्रुहरूको सुविधा बढाउने भए पनि वातावरणीय प्रभाव र स्थानीय पुनर्स्थापनासम्बन्धी चिन्ता कायमै छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img