हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँसभाको १७औं अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामी मगरले अघिल्लो वर्षभन्दा करिब १० करोड कम बजेट प्रस्तुत गरिन्। चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको बजेट ९७ करोड २७ लाख २८ हजार रुपैयाँ थियो।
आन्तरिक आय, बैंकमा रहेको नगद, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा अन्य संस्थागत स्रोतहरू समेटेर नयाँ वर्षको आय योजना बनाइएको छ। आन्तरिक आयस्रोत र बैंक नगदबाट २६ करोड २ लाख ९० हजार रुपैयाँ, संघीय सरकारबाट ५२ करोड ५४ लाख ५४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ र अन्य संस्थागत स्रोतबाट १५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
व्ययतर्फ संघीय सरकारका विभिन्न शीर्षकमा २३ करोड ८६ लाख, प्रदेश सरकारका शीर्षकमा ५ करोड ४३ लाख ४४ हजार, पालिकाको तर्फबाट समपुरकमा ४ करोड २ लाख, प्रशासनिक चालु खर्चमा ११ करोड ७३ लाख, विषयगत कार्यक्रमहरूमा ९ करोड ८३ लाख २८ हजार, वडास्तरीय योजनामा ४ करोड ९० लाख र पालिका स्तरीय पूर्वाधार योजनामा २७ करोड ९४ लाख ६७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
सबैभन्दा बढी ३३ करोड ११ लाख ८५ हजार रुपैयाँ पूर्वाधार विकासमा छुट्याइएको छ। सामाजिक विकासमा ३० करोड ४६ लाख ९३ हजार, आर्थिक विकासमा ४ करोड ५५ लाख ४८ हजार, सुशासन तथा संस्थागत विकासमा ६ करोड ४ लाख ३ हजार, वन वातावरण र विपद् व्यवस्थापनमा १ करोड ४५ लाख ६० हजार र कार्यालय सञ्चालनमा १२ करोड ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी तथा वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको आतिथ्यता थियो ।



