म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सीमामा अवस्थित ऐतिहासिक ओखरबोट तामाखानीको उत्खनन प्रक्रिया अघि बढाउन प्रारम्भिक अध्ययन सुरु गरिएको छ।
नेपाल सरकारको खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको एम/एस दोङ्यी मिनरल्स प्रालिले खानीको खोज तथा उत्खनन अघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को पहिलो चरण अन्तर्गत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न थालेको हो।
मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्को टोलीले खानीमा रहेको तामाको सम्भाव्यता, परिमाण तथा उत्खननका क्रममा पर्न सक्ने वातावरणीय असरहरू पहिचान गर्दै असर न्यूनीकरणका उपायहरूबारे अध्ययन गरिरहेको छ।
कम्पनीले अध्ययन प्रारम्भसँगै प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सरोकारवालाको राय लिन ओखरबोटमा सार्वजनिक सुनुवाइ आयोजना गरिसकेको छ। त्यसका साथै मङ्गलबारदेखि सात दिनसम्मका लागि सार्वजनिक सूचना जारी गर्दै लिखित सुझाव पनि मागिएको छ।
स्थानीयवासीले खानी उत्खननको सम्भावना खुलेपछि स्वागत गरेका छन्। तर उनीहरूले वातावरणीय सन्तुलनमा ध्यान दिन र रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
भूगर्भविद् रोनित पौडेलका अनुसार, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पास भएपछि विस्तृत अनुसन्धान तथा सम्भाव्यता अध्ययन गर्ने तयारी छ। त्यसपछि मात्र औपचारिक उत्खनन प्रक्रिया अघि बढाइने छ।
ओखरबोटको यो तामाखानी पुरानो इतिहास बोकेको छ। स्थानीय ७२ वर्षीय विसराम पटेलका अनुसार २०२८ सालसम्म यहाँबाट परम्परागत प्रविधि प्रयोग गरेर तामा निकालिन्थ्यो। उनका अनुसार दैनिक ७/८ धार्नी तामा निकालिन्थ्यो र दुई सयभन्दा बढी कामदार खटिन्थे।
“त्यस बेला प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आयो। त्यसैले खानी बन्द गरियो,” पटेलले सम्झिए।
खानीमा दुई वटा पुराना सुरुङ छन्, जसको लम्बाइ २५० मिटरदेखि ५०० मिटरसम्म रहेको बताइन्छ। अहिले पनि खानीभित्र पुराना तामाका घाउ देख्न सकिने स्थानीयले बताएका छन्।
ओखरबोट तामाखानीले स्थानीयस्तरमै रोजगार, राजस्व र खनिज स्रोत उपयोगको सम्भावना बोकेको भए पनि उत्खननसँगै आउने पर्यावरणीय, सामाजिक र प्राविधिक चुनौतीहरूलाई सम्बोधन नगरी अघि बढ्न सकिँदैन। स्थानीय सरकार र संघीय निकायबीच समन्वयसहित पारदर्शी प्रक्रिया आवश्यक देखिन्छ।



