देशमधेस प्रदेशबत्ती जडानमा भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित १० विरुद्ध मुद्दा

बत्ती जडानमा भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित १० विरुद्ध मुद्दा

सर्लाही | सौर्य बत्ती जडानको नाममा अढाई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सौर्य बत्ती जडानका लागि गरिएको खरिद प्रक्रियामा सुनियोजित रूपमा कानुनको उल्लंघन गर्दै भ्रष्टाचार भएको पुष्टि भएको हो। सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लंघन गर्दै ठेक्कालाई टुक्र्याएर पाँचवटा प्याकेज बनाइएको र आफन्तबीच मात्रै प्रतिस्पर्धा गराएर खरिद गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ।

गाउँपालिकाले स्वीकृत वार्षिक कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्म सौर्य बत्ती जडानका लागि दुई करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, पोल, प्यानल, ब्याट्री, लाइट, तार, नटबोल्ट र चार्ज कन्ट्रोलरलगायत सामग्रीहरू छुट्टाछुट्टै प्याकेज बनाएर लागत अनुमान दुई करोड ५३ लाख १७ हजार रुपैयाँ पुर्‍याइएको थियो।

बोलपत्र आह्वानको सूचना सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै राष्ट्रिय पत्रिकामा सूचना नदिई स्थानीय पत्रिकामा मात्र प्रकाशित गरिएको थियो। त्यस्तै, मूल्यांकन समिति गठन नगरी खरिद प्रक्रिया अघि बढाइएको र अस्वाभाविक दरभाउमा लागत अनुमान तयार गरिएको अख्तियारको दाबी छ।

सातवटा कम्पनीले बोलपत्र पेस गरे पनि प्रत्येक प्याकेजमा केवल तीनवटामात्र कम्पनीबीच प्रतिस्पर्धा गरिएको देखिन्छ। ती प्रतिस्पर्धामा संलग्न तीन कम्पनी स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, र जियो टेक्निकल एन्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल एउटै परिवारका सदस्यहरूकै स्वामित्वमा छ ।

जसमध्ये स्काई राइज ट्रेडिङका प्रोपाइटर बाबु जयप्रकाश यादव, एसके स्टोर्स छोरा, र जियो टेक्निकलकी सञ्चालक बुहारी संगीता कुमारी रहेको अख्तियारको अनुसन्धानबाट खुल्न आएको छ। यसरी एउटै परिवारका सदस्यहरूले आ–आफ्नो नाममा कम्पनी खोली आपसमा ‘कागजी प्रतिस्पर्धा’ गरेर बोलपत्र प्रक्रियामा भाग लिएको र खरिद प्रक्रियालाई वैध देखाउने प्रयत्न गरिएको आयोगको ठहर छ।

यही मिलेमतोका आधारमा टेण्डर प्राप्त गरी स्काई राइजका प्रोपाइटर जयप्रकाश यादवले झुटा बिल बनाएर सामान आपूर्ति नहुँदै दुई करोड ४९ लाख ४० हजार रुपैयाँ भुक्तानी लिएको प्रमाणित भएको अख्तियारको भनाइ छ। उनले सामग्रीको निरीक्षण प्रतिवेदन तयार पार्नेदेखि फाइनल बिल बनाउने कार्यसमेत आफैंले गरेका थिए।

यसै क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने नियत राखी कम गुणस्तरका सामग्री उच्च मूल्यमा आपूर्ति भएको देखिएको र त्यसलाई गुणस्तरीय भनी प्रमाणित गरिएको अख्तियारले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख कैलाशराय यादव, सबइन्जिनियर सन्तोष राय र राजु रायसहित आपूर्तिकर्ता कम्पनीहरू स्काई राइजका जयप्रकाश यादव, एमके स्टोर्सका रंजु कुमारी शाह र जियो टेक्निकलकी संगीता कुमारीविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले करिब अढाई करोड बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img