हेटौँडा | बुधबार साँझ परेको चट्याङले मकवानपुरको कैलाश गाउँपालिकामा एक बालकको ज्यान गएको छ भने अर्को व्यक्तिलाई गम्भीर चोट लागेको छ।
प्रहरीका अनुसार ज्यान गुमाउने बालक कैलाश गाउँपालिका–९, थामलेकका १४ वर्षीय कान्छा गोले रहेका छन्।
यसैबीच, बिहीबार बागमती गाउँपालिका–२, देउरालीगाउँमा चट्याङ लागेर ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन्। प्रहरीका अनुसार श्रेष्ठको कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेको छ। उनको अवस्था मध्यम रहेको र राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ।
हाल जिल्लामा वर्षाका कारण चट्याङका घटनाहरूमा वृद्धि भइरहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित स्थानमा बस्न र चट्याङबाट बच्न सचेत रहन आग्रह गरेको छ।