भारत | बिहिबार दिउँसो गुजरातको अहमदाबादमा एयर इन्डियाको लन्डन ग्याटविकका लागि उडेको फ्लाइट एआई–१७१ उडेको केही मिनेटभित्रै दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा हालसम्म २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ।
विमानमा कुल २४२ जना सवार थिए । जसमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए।
विमान दिउँसो १:३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। उडानको दुई मिनेटमा विमान अचानक उचाइ गुमाउँदै शहरको मेघानीनगर क्षेत्रमा रहेको बी.जे. मेडिकल कलेजको डाक्टर होस्टलमा ठोक्किएको थियो।
अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकका अनुसार घटनास्थलबाट २०४ शवहरू संकलन गरिएको छ। स्थानीय अस्पतालमा केही घाइतेहरू उपचाररत छन्। प्रारम्भिक उद्धार कार्य सकिएपनि क्षतिग्रस्त क्षेत्रमा अझै खोजी तथा अनुसन्धान जारी छ।
विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानाडेली नागरिक सवार थिए। स्थानीयका अनुसार विमानमा सवार अधिकांश यात्रुहरूले ज्यान गुमाएका छन् भने एकजना मात्र यात्रु बेलायतका ३४ वर्षीय विश्वास कुमार रामेश जीवित भेटिएको जनाईएको छ । उनी अहिले अहमदाबादको एक निजी अस्पतालमा उपचार गराइरहेका छन् र अवस्था स्थिर रहेको बताइएको छ।
विमानको टेकअफ रेकर्ड अनुसार उडानका क्रममा विमानले सामान्यभन्दा कम उचाइ लिएको, ल्यान्डिङ गियर फिर्ता नगरिएको, र त्यसपछि उच्च गतिको अवस्थामै दुर्घटनामा परेको देखिन्छ। मौसम सफा रहेको र कुनै किसिमको खराबी नभएको पुष्टि भएपछि प्रविधि, इञ्जिन प्रणाली वा पक्षी ठक्करजस्ता अन्य सम्भावित कारणहरूमा अनुसन्धान केन्द्रित गरिएको छ।
यस दुर्घटनापछि भारत, बेलायत, र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र प्रतिक्रियाहरू आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै घटनाको छानबिनमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। बेलायती प्रधानमन्त्री केइर स्टारमर र बेलायती राजपरिवारले पनि शोक सन्देश पठाएका छन्।
अहमदाबादको स्वास्थ्य पूर्वाधार, सुरक्षाकर्मी, अग्नि नियन्त्रण र उद्धार टोलिहरूले ऐतिहासिक आपतकालीन प्रतिक्रिया देखाएका छन्। तर, मृतकहरूको पहिचान, अन्त्येष्टि प्रक्रिया, र परिवारलाई जानकारी दिने काम अझै बाँकी छ।