समाजमुख्यमन्त्री सिंहको छड्के अनुगमनमा १३ अस्पताल बन्द, २ कर्मचारी पक्राउ

मुख्यमन्त्री सिंहको छड्के अनुगमनमा १३ अस्पताल बन्द, २ कर्मचारी पक्राउ

सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैया क्षेत्रमा सञ्चालित निजी अस्पतालहरूको आकस्मिक अनुगमन गरेका छन्। शनिबार साँझ गरिएको छड्के अनुगमनमा १४ अस्पताल मध्ये १३ वटा अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ, जसलाई तत्कालै बन्द गराइएको छ।

मुख्यमन्त्री सिंहका अनुसार ती अस्पतालहरूमध्ये कतिपय दर्ता नै नभएका, कतिपय नवीकरण नगरी सञ्चालनमा आएका थिए भने केहीले मापदण्ड विपरीत स्वास्थ्य सेवा दिइरहेका थिए। अनुगमन टोलीले सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टरसहित १३ अस्पताललाई बन्द गराएको छ। साथै, मनकामना मिड इस्टर्न अस्पताललाई मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै १५ दिनभित्र स्वास्थ्य मन्त्रालयको अनुगमन गराउनु पर्ने निर्देशन दिइएको छ।

अनुगमनका क्रममा सिद्धकामना हस्पिटलका दुई जना कर्मचारी प्रहरी नियन्त्रणमा लिइएका छन्। अनुगमन टोली पुगेपछि अस्पतालका कर्मचारीहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए।

स्वास्थ्य क्षेत्रसँगै खाद्य सुरक्षाको समेत अनुगमन गरिएको थियो। मिर्चैया कटारी चोकस्थित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना अखाद्य वस्तु प्रयोग गरी खाद्य सामग्री बनाएको भेटिएपछि सिल गरिएको छ।

मुख्यमन्त्री सिंहले अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरूलाई कारबाही गर्न कडाइका साथ लाग्ने बताएका छन्। साथै, खाद्य सुरक्षासम्बन्धी कानुन उल्लंघन गर्ने व्यवसायीहरूमाथि पनि कडा निगरानी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img