Sunday, April 20, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकामानव सेवा आश्रमको अक्षयकोषमा हेटौँडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान...
spot_img

मानव सेवा आश्रमको अक्षयकोषमा हेटौँडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने

हेटौँडा | हेटौंडा–९, लामसुरेधापस्थित मानव सेवा आश्रमले स्थापनाको तयारी गरिरहेको अक्षयकोषमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ।

श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन समारोहमा नगर प्रमुख मीनाकुमारी लामाले यो सहयोग घोषणा गर्दै समाजमा मानव सेवाको महत्त्व झनै बढ्दै गएको बताइन्। उनले आश्रमको दीगो विकासका लागि बागमती प्रदेश सरकारको समेत योगदान आवश्यक रहेको उल्लेख गरिन्।

आश्रमले १० करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ, जसलाई पूर्णता दिन महायज्ञको आयोजना गरिएको हो। महायज्ञको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरे, जस क्रममा उनले प्रदेश सरकारबाट समेत अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ समेत हस्तान्तरण गरे।

यस महायज्ञमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गरिरहेका छन्। हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् भने डा. कृष्ण धिताल र उनकी पत्नी चन्द्रावती अर्यालले ५ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

मानव सेवा आश्रमले प्रदेशभरिका सडक आश्रित नागरिकको पुनर्स्थापना गर्दै ‘सडक मानव मुक्त प्रदेश’ निर्माण गर्ने लक्ष्य लिएको छ। आगामी वर्षभित्रै नेपाललाई ‘सडक मानव मुक्त राष्ट्र’ बनाउने उद्देश्य रहेको आश्रमका पदाधिकारीहरूले बताएका छन्।

महायज्ञको पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट विशाल शोभायात्रा निकालिएको थियो। दोस्रो दिनदेखि २४ चैतसम्म विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिनेछन्, जसमा बिहान स्वास्थ्य शिविर, युवा अन्तर्क्रिया कार्यक्रम, र मानवता प्रवर्द्धन सम्बन्धी छलफल हुनेछन्। प्रत्येक दिन भावगत भाष्कर कमलनयन गौतमद्वारा कथा प्रवचन समेत हुनेछ।

यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ भइसकेको छ भने हेटौंडामा यो १०औं महायज्ञको रूपमा आयोजना गरिएको हो।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img