समाजअविरल वर्षाले काठमाडौँ जोड्ने सबै राजमार्ग अवरुद्ध, हेटौँडाबाट प्रवेश गर्ने सबै सडक...

अविरल वर्षाले काठमाडौँ जोड्ने सबै राजमार्ग अवरुद्ध, हेटौँडाबाट प्रवेश गर्ने सबै सडक बन्द

काठमाडौँ | तीन दिनदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने सबै प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। बाढी र पहिरोले सडक भत्किँदा आइतबार बिहानसम्म उपत्यकातर्फको सवारी आवागमन पूर्णरूपमा बन्द भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

हेटौँडा–काठमाडौँ मार्ग पूर्णरूपमा बन्द

बाढीपहिरोले हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सबै सडकमार्ग अवरुद्ध भएका छन्। कान्ति लोकपथको ठिंगनदेखि बगुवा खोलासम्म तीनवटा ठूला पहिरो खसेका छन्, जसले सडकका केही भाग समेत बगाएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।
कान्तिलोकपथमा हेटौँडादेखि बगुवा खोलासम्म साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरो गएको पुष्टि भएको छ।

त्यस्तै, त्रिभुवन राजपथ अन्तर्गत बाघमारा र महभीर क्षेत्रमा पनि पहिरो खसेको छ। पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारको वर्षाले कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा महालक्ष्मी खोलामा पहिरो खसेर सडक ढाकिएको छ भने फाखेलमा पनि बाटो अवरुद्ध बनेको छ।
सिस्नेरीस्थित डोडारे खोलाले बगर र लेदो बगाएर सडक बन्द बनाएको छ। सोही सडकखण्डको दक्षिणकाली मन्दिर नजिक पनि पहिरो गएकाले सिस्नेरी–दक्षिणकाली खण्डमा यातायात सञ्चालन असम्भव भएको प्रहरीले जनाएको छ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार अवरुद्ध सडकहरूमा डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। हेटौँडाबाट काठमाडौँ जाने सवारी शनिबार दिउँसोदेखि नै रोकिएका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई शनिबार प्रहरीले सुरक्षितसाथ काठमाडौँ पु-याएको थियो।

अन्य राजमार्गहरू पनि ठप्प

भक्तपुरको साँगा र ललितपुरको टिका भैरव क्षेत्रमा पहिरो खसेर कान्तिलोकपथ बन्द छ।  काभ्रेको रोशी गाउँपालिका र बुलढुंगामा पहिरो खसेर बिपी राजमार्ग अवरुद्ध छ भने, सिन्धुपाल्चोकको चार किलो, धुलिखेलको खावा र ५४ किलोमा पहिरो खसेर अरनिको राजमार्ग पनि बन्द छ। नारायणगढ–मुग्लिन सडकखण्ड र धादिङको बेनीघाट क्षेत्रमा पनि ठूला पहिरो खसेका छन्।

सरकारले जोखिमका कारण सोमबारसम्मका लागि लामो दूरीका सवारी सञ्चालन नगर्न सूचना जारी गरेको छ। निरन्तरको वर्षापछि आइतबार बिहान केही ठाउँमा पानी रोकिए पनि सडक मर्मत सुरु गर्न अझै जोखिम रहेको सम्बन्धित निकायहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img