हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार उक्त सडक पनि एकतर्फी मात्र सञ्चालन भइरहेको छ। बाकि तीनवटा सडक त्रिभुवन राजपथ, कान्तिलोकपथ र सिस्नेरी–पालुङ खण्ड अझै अवरुद्ध छन्।
त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पालुङ–हेटौँडा सडकखण्डमा ठूला पहिरो खसेका छन्। पहिरो पन्छाउने कार्य जारी रहेको भए पनि लगातारको वर्षाले काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सातदोबाटो–ठिंगन हुँदै हेटौँडा जाने कान्तिलोकपथ पनि पहिरोले अवरुद्ध भएको छ। सो सडकमा ठूला ढुंगामाटो र लेदो बगेर सडक पुरिएको छ।
सिस्नेरी बजार र पालुङ नजिकका भागमा पनि पहिरोका कारण आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा फैलिएको “कुलेखानी ड्याम खोल्दा सडक भत्किएको” भन्ने हल्ला सत्य नभएको स्पष्ट पारेको छ। प्रहरीका अनुसार हालसम्म कुलेखानी ड्याम खोलिएको छैन।




