हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी संगठनलाई एकताबद्ध र व्यवस्थित बनाउन पदाधिकारीको सट्टा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।
पार्टीभित्र देखिएका असन्तुष्टि र मनमुटाव अन्त्य गर्दै सबैलाई मिलाएर संगठनलाई अघि बढाउने उद्देश्यले आफूले केन्द्रीय सदस्य पद रोजेको उनले बताए। ठूलो पदमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भए पनि पार्टीलाई ‘भिडको होइन, विचारको पार्टी’ बनाउन आफूले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।
‘ठूलो पदमा लड्ने इच्छाभन्दा पनि पार्टीलाई भिडको होइन विचारको पार्टी बनाउन, सबैलाई मिलाएर लैजान र संगठनलाई बलियो बनाउन यो निर्णय लिएको हुँ,’ बानियाँले भने, ‘म प्रदेश सभापति भइसकेकाले उपसभापति वा महामन्त्रीमा पनि लड्न सक्थेँ। तर संगठनलाई सहज र व्यवस्थित बनाउन खुला सदस्यमा मात्रै उम्मेदवारी दिने निर्णय गरेको छु।’
उनले पार्टीका नेता तथा कार्यकर्तालाई जिल्ला र प्रदेश तहबाटै संगठन सुदृढीकरणमा भूमिका खेल्न आग्रह गरे। पार्टीभित्र रहेका असन्तुष्टि मेटाउँदै आपसी मेलमिलाप कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।
निर्वाचनमा आन्तरिक प्रतिस्पर्धाभन्दा आपसी सहयोग र सहकार्यको भावनालाई प्राथमिकता दिनुपर्नेमा पनि बानियाँले जोड दिए।
बागमती प्रदेशसँगै संघीय राजधानी काठमाडौंको राजनीतिक महत्वलाई ध्यानमा राखेर कांग्रेसलाई संगठनात्मक रूपमा थप सशक्त बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ। अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीलाई बलियो र व्यवस्थित बनाउन नेतृत्वदेखि कार्यकर्तासम्मको सहकार्य आवश्यक रहेको उनले बताए।



