हेटौँडा | हेटौँडामा नेपाल प्रहरीको चौथो विधिविज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हुने अपराध अनुसन्धान थप वैज्ञानिक र छिटो हुने अपेक्षा गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा करिब रु १२ करोडको लागतमा स्थापना गरिएको प्रयोगशालाले भदौ २२ गतेदेखि औपचारिक रूपमा नमुना परीक्षण सुरु गरेको हो।
प्रयोगशालाबाट हाल रसायन तथा लागुऔषध, जबर्जस्ती करणीका घटनासँग सम्बन्धित बायोलोजी, सिरोलोजी तथा डीएनए परीक्षण भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हेटौँडाको प्रयोगशालाले बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुलीसहित मधेश प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीबाट प्राप्त हुने नमुना परीक्षण गर्नेछ। यसअघि यस्ता नमुना परीक्षणका लागि काठमाडौं वा अन्य स्थानमा पठाउनुपर्ने अवस्था थियो।
प्रयोगशाला प्रमुख मोहनसिंह धामीका अनुसार सम्बन्धित जिल्लाबाट परीक्षणका लागि नमुना तीन दिनभित्र पठाउनुपर्ने व्यवस्था गरिएको छ। प्रयोगशालाले नमुना प्राप्त भएको बढीमा १० दिनभित्र परीक्षण सम्पन्न गरी सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका बनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीका अनुसार प्रयोगशाला सञ्चालनले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग बढाउनुका साथै अनुसन्धान र न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
विशेषगरी लागुऔषध, जबर्जस्ती करणी तथा डीएनएसँग सम्बन्धित मुद्दामा परीक्षण प्रतिवेदन ढिला हुँदा अनुसन्धान र अदालतको फैसला प्रक्रियासमेत प्रभावित हुने गरेको थियो। हेटौँडामै परीक्षण सुविधा उपलब्ध भएपछि नमुना ढुवानीमा लाग्ने समय र खर्च घट्ने तथा अनुसन्धान अधिकृतले आवश्यक प्रतिवेदन छिटो प्राप्त गर्ने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीले यसअघि काठमाडौं, धरान र नेपालगन्जमा विधिविज्ञान प्रयोगशाला सञ्चालन गर्दै आएको थियो। हेटौँडाको प्रयोगशाला सञ्चालनसँगै बागमती र मधेश प्रदेशका सम्बन्धित जिल्लामा वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धानको पहुँच थप विस्तार भएको छ।



