बागमती प्रदेशमकवानपुरअविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य...

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा|  पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुनसरीका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको छ।

इलामको माने भञ्ज्याङ, मान्सेबुङ र सन्दकपुर क्षेत्रमा पहिरोमा परेकाहरूको उद्धारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू पनि खटिएका छन्। नेपाल–भारत सीमास्थित नम्बर–२६ बटानिलयनका इन्स्पेक्टरको नेतृत्वमा एसएसबीका उद्धारकर्मी घाइतेको उद्धार र बेपत्ता व्यक्तिहरूको खोजीमा सक्रिय छन्। सशस्त्र प्रहरी बलसँगको समन्वयमा उद्धार कार्य भइरहेको छ। कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीका अनुसार, प्रभावित ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ।

अविरल वर्षाका कारण इलाममा दुई दिनमा मात्रै १८ जनाको मृत्यु पुष्टि भएको छ। सूर्योदय–१, मानेभञ्ज्याङमा ५, माङसेबुङ–१, पाटिगाउँमा ३, देउमाई–५, धारेमा १, धुसुनेमा २, फाकफोकथुम–३, रातमाटेसमा १ र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।

रसुवामा लाङटाङतर्फ जाने क्रममा बेपत्ता भएका चारमध्ये तीन जना एउटै परिवारका रहेका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।

सिन्धुपाल्चोकको वनदेउ–चौतारा सडक अवरुद्ध भए पनि सशस्त्र प्रहरी बलको टोलीले सडक सञ्चालनमा ल्याएको छ। मकवानपुर–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–फाखेल फर्पिङ सडक हाल एकतर्फी सञ्चालनमा छ। अवरुद्ध सडकहरूको पन्छाउने काम सुरु भएको छ, जहाँ हेटौँडामा रोकेका करिब ५० वटा यात्रुवाहक सवारीमध्ये १५–२० सवारीसाधन काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन्।

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ ढोका खोलिएको छ। अहिले ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ। यसअघि वर्षा कम हुँदा ५० ढोका मात्र खोलिएको थियो। सप्तकोशी, सुनसरी र मोरङमा अति भारी वर्षा भएकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

महोत्तरीको रतु नदीको तटबन्ध भत्किँदा जलेश्वर बजार क्षेत्र जोखिममा परेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ। उदयपुरमा भेलबाढीले हायस गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने २१ जना सकुशल उद्धार भएका छन्।

काठमाडौँ उपत्यकामा अब पानी रोकेपछि मधुरो घाम लाग्दै जनजीवन सामान्य बन्दै गएको छ। बाढी–पहिरो प्रभावित स्थानमा विस्थापित व्यक्तिहरू आ–आफ्नो घर फर्किन थालेका छन्।

सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयका अनुसार देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जनधनको सुरक्षा दृष्टिले बिदा निर्णय गरिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशभर आठ नदीको जलसतह खतराको तह पार गरेको छ। कोशी, बागमती, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला र अन्य नदीनालामा सतर्कता कायम राख्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img