इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन

आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ । आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ । वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो । ‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ । विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । हुन त कोभिड सङ्क्रमण जोखिमका कारणले अधिकांश विद्यालयहरू अनलाइन पद्धतिमा चलिरहेका छन्, भौतिक रुपमा विद्यालयहरू बन्द छन् । यस वर्षको सरस्वती पूजाले एउटा नयाँ शिक्षण पद्धति मार्फत हुर्किरहेका पुस्तालाई ज्ञान र अनुशासनको पैरवी गरिरहेको छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ । कोभिडका कारणले यस वर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न होस् । विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ । काठमाडौँमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ । नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ । आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त: कालसम्म रहिरहोस् । आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहित भएका थिए, सुफीका महान कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैँ सुफी वसन्तका रूपमा मनाउन थालिएको हो । हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क