फिचरभाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

हेटौँडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे लगाउने उत्तम साइत रहेको छ। समितिका सदस्य प्राध्यापक देवमणि भट्टराईका अनुसार यो साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेको शुभ समय हो।

समितिले साइत खोज्नेका लागि यो समय उपयुक्त भए पनि सर्वसाधारणका लागि मध्याह्नकालमा भाइटीका लगाउँदा कुनै बाधा नपर्ने स्पष्ट पारेको छ। भट्टराईका अनुसार राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा भए पनि सर्वसाधारणका लागि मध्याह्नकालमा लगाउँदा शास्त्रीय दृष्टिले कुनै समस्या हुँदैन।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीपदान गर्नुपर्ने समितिले जनाएको छ। धन त्रयोदशी र धनतेरस पर्व पनि यही दिन परेको समितिले स्वीकृत पात्रोमा उल्लेख छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइनेछ। कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा तथा दीपमालिका गर्ने दिन पर्ने समितिले जनाएको छ।

कात्तिक ४ गते मंगलबार बिहान औँशी तिथिमा स्नान र दान गर्नुपर्नेछ भने औँशी तिथि दिउँसो ४ः२९ बजेसम्म रहनेछ। त्यसपछि कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म अर्थात् म्ह पूजा गरिनेछ। आत्म पूजा विशेषगरी नेवार समुदायले मनाउने परम्परा हो। कृत्यवाटिका ग्रन्थअनुसार आत्म पूजा कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा गर्नुपर्ने उल्लेख छ।

यही दिन नेपाल संवत् अनुसार नयाँ वर्ष सुरु हुने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस वर्ष नेपाल संवत् ११४६ सुरु हुने अध्यक्ष ढकालले जानकारी दिएका छन्।

भाइपूजा, जसलाई नेवारी भाषामा किजापूजा भनिन्छ, कात्तिक ६ गते बिहीबार मनाइनेछ। समितिका जानकारीअनुसार मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहने भएकाले भाइटीका पनि मध्याह्नकालमै लगाइनेछ। शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको छ, जसको अर्थ दाजुभाइ दुवैलाई पूजा गर्नु हो। त्यसैले भाइटीका भनिए पनि ज्येष्ठको क्रमअनुसार दाजुभाइलाई टीका लगाउनु शास्त्रसम्मत हुने समितिले स्पष्ट पारेको छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस अवधिमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ। परिवारका सदस्यहरूको नाम उच्चारण गर्दै गरिने यमदीपदानले यमलोकको यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img