हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूलको बिक्री, वितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नगरभित्र अबदेखि प्लास्टिकको फूल बिक्री, वितरण र प्रयोग गर्न नपाइने जनाएको हो।
उपमहानगरपालिकाका अनुसार स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक फूललाई प्रोत्साहन दिने उद्देश्यले यो निर्णय गरिएको हो। विज्ञप्तिमा भनिएको छ, “स्थानीय उत्पादन तथा स्वदेशी फूलको प्रवर्द्धन हाम्रो सामूहिक जिम्मेवारी हो, त्यसैले प्लास्टिकको फूलमालाको प्रयोग तत्काल बन्द गर्न अनुरोध गर्दछौं।”
नगर प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार प्लास्टिकका फूल र मालाहरू माटोमा कुहिन नसक्ने, वातावरण प्रदूषित गर्ने र शहरको सौन्दर्यमा नकारात्मक असर पार्ने भएकाले त्यसको प्रयोग रोक्नुपर्ने आवश्यकता देखिएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा प्लास्टिकका फूलमालाको बिक्री, वितरण वा प्रयोग गरेको पाइएमा नियमन तथा कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।



