मकवानपुर | जिल्लाको विकट पालिकामध्येको एक राक्सिराङ गाउँपालिकाले आफ्नै नवनिर्मित सुविधासम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ। बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त भवनको उद्घाटन गरेका हुन्।
मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै २०७३ सालमा स्थापना भएको गाउँपालिकाले करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवनबाट सेवा दिन थालेको हो। गाउँपालिका स्थापनापछि पालिका केन्द्र चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयको छात्राबास भवन र स्वास्थ्यचौकी भवन मर्मत गरी अस्थायी रूपमा सेवा सञ्चालन हुँदै आएको थियो।
२०७८ साल असार महिनादेखि पालिका केन्द्र चैनपुरमै करिब सात कट्ठा जमिनमा प्रशासकीय भवन निर्माण सुरु गरिएको थियो। निर्माण सुरु भएको करिब साढे चार वर्षपछि चारतले ४३ कोठे भवन निर्माण सम्पन्न भएको हो।
छ करोड ४२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी जयमाता इन्जिनियरिङ निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८२ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयभन्दा चार महिना ढिलो गरी निर्माण सम्पन्न भएको हो।
नयाँ भवन निर्माण भएसँगै गाउँपालिकाको कार्यालय र सबै शाखाले एउटै छानामुनिबाट सेवा दिन सहज भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। उनका अनुसार भवन निर्माणमा संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य राखेका थिए।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वनस्तम थिङले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई गाउँपालिकाले सम्मानसमेत गरेको थियो।



