राजनीतिविशेष महाधिवेशन:, कांग्रेस विभाजनको संघारमा

विशेष महाधिवेशन:, कांग्रेस विभाजनको संघारमा

काठमाडौं | पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बोलाइएको नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ । प्रस्तावहरू पारित भएसँगै कांग्रेस विभाजनको संघारमा पुगेको संकेत देखिएको छ ।

विशेष महाधिवेशनमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टीको आम संरचनात्मक सुधारसम्बन्धी प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । प्रस्ताव पारित भएसँगै महामन्त्री थापाले अब सबै निर्णय महाधिवेशनको हलबाटै हुने घोषणा गर्दै बाहिरको सहमतिको प्रयास निष्कर्षविहीन रहेको बताएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । उक्त प्रस्ताव स्वीकार गर्दै थापाले नेतृत्व चयनको प्रक्रिया महाधिवेशनबाटै टुंगिने स्पष्ट पारेका छन् ।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । आकांक्षीहरूले फारम लिन थालेका छन् । थापाले विशेष परिस्थितिमा भइरहेको महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई उदार बन्न अपिल गरेका छन् ।

संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरबीच सहमतिका लागि वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन । विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्ताव पारित गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले पद छोड्नुपर्ने लगायत माग राखेका छन् । तर संस्थापन पक्ष तयार नभएपछि वार्ता अल्झिएको छ ।

महाधिवेशनलाई अवैधानिक भन्दै आएको संस्थापन पक्षले केन्द्रीय समिति बैठक पनि सार्दै आएको छ । यता विशेष महाधिवेशन पक्षधरहरूले संवाद खुला राखे पनि प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।

महाधिवेशन स्थलमा वार्तामा अल्झिन नहुने भन्दै नाराबाजीसमेत भएपछि अब नीति र नेतृत्वबारे निर्णय नगरी नहुने अवस्थामा विशेष महाधिवेशन पुगेको छ । नीतिगत प्रस्ताव टुंगिएपछि अब नेतृत्वबारे बुधबार निर्णय हुने बताइएको छ ।

यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई कारबाही गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ । रातारात सहमति नभए बुधबार बस्ने केन्द्रीय समिति बैठकले कडा निर्णय गर्न सक्ने संकेत देखिएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img