हेटौंडा | बागमती प्रदेश लोक सेवा आयोगले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरी आयोगको विगत पाँच वर्षको उपलब्धि सार्वजनिक गरेको छ। कार्यक्रमले आयोगको पारदर्शी, निष्पक्ष र समावेशी कार्यप्रणालीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न चुनौतीहरूका बारेमा पनि चर्चा गर्यो।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा थिए भने बिशिष्ट अतिथिमा बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठक, प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, उपसभामुख अप्सरा चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द लामिछाने, उद्योग, वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङ्ग, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालको उपस्थिति रहेको थियो।
आयोगको पारदर्शिता र निष्पक्षता प्रशंसनीय: प्रदेश प्रमुख देवकोटा
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आयोगले पाँच वर्षभित्र गरेका उपलब्धिहरूको प्रशंसा गर्दै यसको कार्यप्रणालीमा उच्चतम पारदर्शिता र दक्षता रहेको कुरा उल्लेख गरे।
उनले भने, “आयोगले आफ्ना कार्यहरूमा निष्पक्षता र पारदर्शितालाई प्राथमिकतामा राखेर प्रदेशको प्रशासनिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।” देवकोटाले आयोगको कार्यलाई अझ सशक्त बनाउन प्रदेश सरकारको समेत महत्वपूर्ण भूमिका रहेको बताए। प्रमुख अतिथिका रूपमा रहेका देवकोटाले वार्षिक प्रतिवेदनको अध्ययनपछि आयोगले पछिल्लो वर्ष गरेका प्रगति र आगामी योजनाको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि प्रभावकारी कार्य गर्ने प्रतिवद्धतालाई सकारात्मक रूपमा अघि बढाउन सुझाए।
प्रक्रिया सुधार गर्दै डिजिटल प्रणाली आवश्यक : सभामुख पाठक
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थिति भएका बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले मुलुकको प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउनका लागि लोक सेवा आयोगको भूमिका अपरिहार्य रहेको औंल्याए।
उनले भने, “बागमती प्रदेशमा योग्य र सक्षम जनशक्ति छनोट गर्न लोक सेवा आयोगले अतुलनीय भूमिका खेलेको छ। हाम्रो मुलुकमा योग्य र सक्षम युवाहरू सरकारी प्रशासनमा कम आकर्षित भइरहेका छन्, जसलाई रोक्न परम्परागत प्रणालीलाई सुधार गर्दै लोक सेवा आयोगको प्रणालीलाई समयानुकूल र आधुनिक बनाउनुपर्ने आवश्यकता छ।” सभामुख पाठकले योग्य जनशक्ति प्राप्त गर्नका लागि प्रक्रियामा सुधार आवश्यक रहेको भन्दै यसलाई दक्ष र डिजिटल बनाउनुपर्ने सुझाए।
आयोगको स्वायत्तता सुरक्षित गर्न प्रतिबद्धता : मुख्यमन्त्री लामा
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले लोक सेवा आयोगको स्वायत्तता र निष्पक्षतालाई सम्मान गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “प्रदेश सरकारले आयोगलाई एक स्वायत्त संस्थाका रूपमा राखेर यसको गरिमा र कार्यप्रणालीलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।” उनले भने, “आयोगले गर्ने नियुक्ति र सरुवा प्रक्रियामा कुनै प्रकारको बाह्य दबाब रहित प्रणाली निर्माण गर्न प्रदेश सरकार सधैं प्रयासरत रहनेछ।” मुख्यमन्त्री लामाले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित, स्वच्छ, पारदर्शी र प्रभावकारी बनाउने दिशामा प्रदेश सरकारको साथ रहने कुरा व्यक्त गरे।
यसैगरी, प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले लोक सेवा आयोगको पारदर्शिता र निष्पक्षताका लागि आयोगलाई प्रशंसा गर्दै सार्वजनिक संस्थामा आयोगले देखाएको निष्पक्षताले शासन व्यवस्थामा सुधार ल्याउन मद्दत पुर्याएकोमा खुशी व्यक्त गरे। उनले भने, “लोक सेवा आयोगले बाह्य हस्तक्षेपको सामना गर्नु नपरेको र पूर्णतया निष्पक्ष रहन सफल भएको देख्दा हामी गर्व गर्छौं। यसले योग्य व्यक्तिहरूलाई सरकारी प्रशासनमा ल्याउन सहयोग गरेको छ।” पौडेलले आयोगले मुलुकको समग्र प्रशासनिक ढाँचामा सुधार ल्याउन सहयोग पुर्याएको समेत बताए।
आयोगकी सदस्य शर्मीला नेउपानेले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आयोगले गत वर्षमा गरेका प्रमुख उपलब्धिहरूको चर्चा गरिन् । उनले भनिन्, “हामीले पारदर्शी र निष्पक्ष प्रणालीलाई स्थापित गर्न धेरै चुनौतीहरू सामना गरेका छौं, तर कर्मचारी तथा भौतिक पूर्वाधारको अभाव र सिफारिस कार्यान्वयनमा असहयोग जस्ता चुनौतीहरू समाधान गर्न अझै केही कदम चाल्न बाँकी छ।” सदस्य नेउपानेले आयोगले परीक्षाको सम्पूर्ण प्रक्रियालाई सहज बनाउन र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको र आगामी वर्षहरूमा यो कार्य अझ सुदृढ पार्ने योजना रहेको बताईन।
कार्यक्रमको अन्त्यतिर सातौं अधिकृत ईश्वर श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियो। उनले आयोगको कार्यप्रणालीमा देखाएको प्रतिबद्धता र योगदानका लागि सम्मानित भएका थिए। कार्यक्रमले प्रदेशका अन्य स्थानीय निकाय र नागरिकहरूलाई समेत लोक सेवा आयोगमा विश्वास बढाउने उद्देश्यका साथ पारदर्शिता र दक्षतालाई थप उचाइमा पुर्याउने अठोट व्यक्त गरेको छ।