देशबागमती प्रदेशयुवालाई स्वदेशमै अवसर दिने लक्ष्यसहित बागमती रोजगारी महोत्सव सुरु

युवालाई स्वदेशमै अवसर दिने लक्ष्यसहित बागमती रोजगारी महोत्सव सुरु

हेटौँडा | वैदेशिक रोजगारीतर्फ धकेलिँदै गइरहेका नेपाली युवालाई स्वदेशमै सीप र अवसरसहित रोजगारीमा जोड्ने लक्ष्यसहित बागमती रोजगार महोत्सव २०८२ शनिबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रायोजनमा सुरु भएको महोत्सव मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा आयोजना गरिएको हो।

हेटौँडा–२ स्थित पल्पसा सभागृहमा सुरु भएको दुई दिने महोत्सवको उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरे। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिलसन्दर श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रा,ओद सिंहरानाभाट,  संघका पूर्वअध्यक्षहरू, उद्योगी, सीपमूलक संस्थाका प्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रदेश सरकारका अनुसार महोत्सवको उद्देश्य रोजगारी खोजिरहेका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सुलभ गराउनु हो। “युवालाई देशमै सीप विकास गराउँदै रोजगारी सिर्जना गर्नु प्रदेश सरकारको प्राथमिकता हो,” मन्त्री महर्जनले उद्घाटन कार्यक्रममा भने, “हामीले रोजगारी सिर्जनालाई विकासको मेरुदण्ड मानेका छौं।”

महोत्सवमा नेपालका ३८ भन्दा बढी उद्योग, सेवा, शिक्षा, बीमा तथा सीपमूलक संस्था सहभागी छन्। ती स्टलहरूबाट युवालाई विभिन्न क्षेत्रका रोजगारीबारे परामर्श, आवेदन प्रक्रिया, अन्तर्वार्ता, र करियर मार्गदर्शन दिइँदैछ। आयोजक संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार महोत्सवले दक्ष जनशक्ति र रोजगारदाता बीचको दूरी घटाउने काम गर्नेछ।

उनले भने, “विदेशिन बाध्य युवालाई देशमै सीप प्रयोग गरी आत्मनिर्भर बन्न सक्ने वातावरण बनाउने प्रयास यो महोत्सवले गर्छ।”

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसन्दर श्रेष्ठले महोत्सवले प्रदेशमा काम गर्ने इच्छाशक्ति भएका तर अवसर नपाएका युवालाई एउटा प्लेटफर्म दिएको बताए। उनका अनुसार, “बागमती प्रदेशमा झन्डै २३ लाख मानिस श्रमिकका रूपमा छन् तर उद्योगहरूलाई अझै दक्ष जनशक्तिको खाँचो छ।” उनले सीपयुक्त जनशक्तिको अभाव र गलत प्रवृत्तिको कारण उद्योगहरूले योग्य कर्मचारी पाउन नसकेको बताए।

ubs1

शनिबार नै आयोजित प्यानल डिस्कसनमा ‘नेपालमा युवा बेरोजगारी : चुनौती र सम्भावना’ शीर्षकमा छलफल गरिएको थियो। श्रम मन्त्री महर्जन, किम्ब टेकका सिइओ कर्मिका थापा र सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोशकराज पौडेलले प्यानलमा सहभागिता जनाएका थिए। छलफलको संयोजन पत्रकार कविर चालिसेले गरेका थिए।

कार्यक्रमको दोस्रो दिन ‘फ्युचर करियर वर्कशप’, ‘रोजगारी र सरकारको भूमिका’ विषयमा छलफल र अन्तर्क्रियात्मक सत्रहरू आयोजना हुनेछन्।

महोत्सवले ‘सिक्दै कमाउँदै’ जस्ता अवधारणा प्रवर्द्धन गर्नसमेत मद्दत गर्ने आयोजकको दाबी छ। सिटिइभिटी बागमती प्रदेशकी प्रमुख शान्ति लामाले भने, “सीप विकास र रोजगारीमा जोड्ने महोत्सवले प्रदेशभरिका युवालाई आत्मनिर्भर बनाउने विश्वास लिएको छ।”

प्रदेश सरकारका अनुसार, सूचना प्रविधि, ड्राइभिङ, बिमा, निर्माण, ग्यारेज, र अन्य सेवा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेको छ। यस्ता महोत्सवबाट युवा, सरकार र उद्योग तीनै पक्षबीच सशक्त समन्वय हुने विश्वास लिइएको छ।

महोत्सवले युवा रोजगारीको समस्या समाधान गर्न सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट सम्भव हुने सन्देश दिएको छ। देशमा प्रत्येक दिन हजारौं युवा विदेशिने अवस्था छ। यस्तै परिवेशमा स्वदेशमै रोजगारी सिर्जनाको दीर्घकालीन मोडेल आवश्यक देखिएको आयोजकहरूको भनाइ छ। महोत्सव आइतबार समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img