हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार साँझ परेको चट्याङका कारण एक बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–८ माइसिराङस्थित आफ्नै घरमा बसिरहेका बेला ७ वर्षीया युनिका प्रजालाई चट्याङ लागेको थियो। शुक्रबार साँझ साढे ५ बजे भएको उक्त घटनामा युनिकाकी आमा २७ वर्षीया रविना प्रजा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेपछि आमा–छोरी दुवैलाई उपचारका लागि मनहरी अस्पताल पुर्याइएको थियो। तर गम्भीर घाइते बालिका युनिकाको शुक्रबार राति ८:५२ बजे निधन भएको प्रहरीको भनाइ छ।
घाइते रविना प्रजाको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।



