हेटौँडा | महिला नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कल्प इम्पावर वीमेन नेपालले सञ्चालन गर्दै आएको “शी लिड्स आइकन” कार्यक्रम अन्तर्गत दोस्रो संस्करणका लागि हेटौँडाकी मेयर मीना कुमारी लामा सहित सातै प्रदेशबाट ३१ महिला जनप्रतिनिधि छनोट भएका छन्।
कार्यक्रमका लागि देशभरबाट १३१ आवेदन परेका मध्ये १११ प्रक्रिया पूरा भएका थिए। तीमध्ये राजनीतिज्ञ अष्टलक्ष्मी शाक्य, सञ्चार विज्ञ चारु चड्ढा र लैंगिकता विशेषज्ञ सरु जोशीसहितको निर्णायक मण्डलले मूल्यांकन गरी ३१ महिला जनप्रतिनिधि चयन गरेको आयोजकले जनाएको छ छनोट भएकामध्ये सात जना प्रमुख तथा अध्यक्ष र २४ जना उपप्रमुख तथा उपाध्यक्ष रहेका छन्।
बागमती प्रदेशबाट पाँच महिला छनोट भएका छन्। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की (थापा), धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङ, दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामा छनोटमा परेका हुन्।
अन्य प्रदेशबाट कोशीका चार, मधेशका पाँच, गण्डकीका चार, लुम्बिनीका चार, कर्णालीका चार र सुदूरपश्चिमका पाँच महिला प्रतिनिधि चयन भएका छन्।
आयोजक संस्थाका अध्यक्ष पूजा कोइरालाका अनुसार चयनमा परेका ३१ महिला जनप्रतिनिधिलाई भाद्र १६ गते तालिम, भाद्र १७ गते सञ्चारकर्मी भेटघाट र पुस १८ देखि २० गतेसम्म काठमाडौंमा महिला जनप्रतिनिधि उत्सवमार्फत प्रस्तुत गरिनेछ। पुस २२ गते हुने अवार्ड समारोहमा ३१ जनामध्ये सात जनालाई ‘शी लिड्स आइकन’ घोषणा गरिनेछ।
यसैबीच, नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई संचार गर्ने अभियान अन्तर्गत “शी लिड्स आइकन” दोस्रो संस्करणको जनमत खुला गरिएको छ। राष्ट्रिय स्तरमा मतदान गर्नका लागि इसेवा एपमा गई “भोटिङ” भित्र रहेको शी लिड्स आइकन, दोस्रो संस्करणमा क्लिक गरी भोट गर्न सकिन्छ। त्यस्तै, अन्तर्राष्ट्रिय भोटका लागि ‘माई पे’मा लगइन गरी भोट गर्न सकिने आयोजकले जनाएको छ।



