सुनसरी / आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतबार र सोमबार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो । संक्रमण नभएका विद्यालयहरुको लागि विदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए ।
आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकामा गएर दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बितामोडका केही विद्यालयहरुले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।
त्यस्तै, भद्रपुर नगर क्षेत्रका सबै संस्थागत विद्यालय आजदेखि बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप फैलिएसँगै नगर क्षेत्रमा सबै संस्थागत विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
विद्यालयका प्रअहरु बिहीबार नगरपालिकासँग बैठक बसी छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधबारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाँकी रहेकोले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको नगर शिक्षा शाखा राजकुमार ओडारीले जानकारी दिए ।