सुनसरी /सुनसरीको इनरुवामा रहेको दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा आएको छ ।
ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गर्दै प्रधामन्त्री प्रचण्डले सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने बताए ।
उनले यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा ५ सय मेगावाट विद्युत् थपिनुले देश प्रगतितर्फ बढेको तथ्य र तथ्यांकले पुष्टि गरेको बताए । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोसी प्रदेशका विभिन्न जिल्लाहरूमा पर्ने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रूपमा रहेको बताए ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ ।