काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्रविधि, प्रशासन र स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार दुई देशबीच फरेन्सिक विज्ञानमा सहकार्य हुनेछ। यसका लागि भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने सहमति बनेको छ।
प्रहरी तालिमलाई प्रभावकारी बनाउन भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ। त्यस्तै, प्रशासनिक अधिकारीहरूको क्षमता विकासका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको छ।
स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइट प्रयोग गरी सञ्चार सञ्जाल बनाउने समझदारी भएको छ।
यसैगरी, आयुर्वेद र परम्परागत चिकित्सा पद्धति प्रवर्द्धन, स्वास्थ्य तथा चिकित्सा, दिगो सहरी विकासमा प्राविधिक सहकार्य तथा पशुपालन र मत्स्यपालनको आधुनिकीकरण र विकासमा मिलेर काम गर्ने सहमति पनि भएको छ।