हेटाैँडा। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेजले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पूरणबहादुर जोशीले ढकाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे। क्रिकेटमार्फत राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरी संस्था र मकवानपुरको गौरव बढाएकाले सम्मान गरिएको उनले बताए।
त्यसैगरी, बालजागृति इंग्लिस सेकेन्डरी स्कुलका प्राचार्य विनोद सुवेदीले ढकाललाई २५ हजार रुपैयाँको चेक, सम्मानपत्र, खादा र दोसल्ला प्रदान गरे।
हेटौँडा उपमहानगरपालिका–२ का ढकालले एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्दै आठ खेलमा १७ विकेट लिएका थिए। प्रतियोगितामा सर्वाधिक विकेट लिने उनले ‘गोल्डेन क्याप’सँगै दुई लाख रुपैयाँ पुरस्कार पाएका थिए।
यस्तै, प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी बन्दै कार तथा उत्कृष्ट बलरका रूपमा मोटरसाइकलसमेत हात पारेका थिए।