काठमाडाैँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। भेटमा दुई देशबीच आर्थिक साझेदारी, यातायात र डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा सहकार्य समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी छ।
दुई प्रधानमन्त्रीको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। नेपालले उठाउँदै आएको हवाई प्रवेश विन्दु अर्थात् एयर रुटको विषयमा भने छलफल हुने–नहुने निश्चित भइसकेको छैन।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संसाधन विकाससम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) आदान–प्रदान गर्ने तयारी छ। सडक, रेल, हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत् तथा ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता हुनेछन्।
आजै दुई प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलामा महाकाली पुल र काभ्रेमा निर्मित नेपाल प्रहरी एकेडेमीको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ। यसैगरी दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल शिलान्यास गरिनेछ।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपाली प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने तयारी छ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।