चितवन। चितवनको मुग्लिन नजिकै घोप्टेभीर क्षेत्रमा मर्मत तथा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सडक बन्द गरिएको छ। मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द रहने मुग्लिन प्रहरीले जनाएको छ।
निरन्तर ढुङ्गा तथा माटो खसिरहने जोखिमयुक्त डाँडाको माथिल्लो भाग कटान गरी व्यवस्थापन गर्न सडक बन्द गरिएको प्रहरीले बताएको छ। सम्भावित दुर्घटना रोक्न भिरको जोखिमयुक्त भाग पन्छाउने काम भइरहेको हो।
सडक बन्द रहने समयमा प्रहरीले विभिन्न स्थानमा सवारीसाधन रोक्ने व्यवस्था मिलाएको छ। जसअनुसार नारायणगढतर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरातर्फबाट आउने गाडीलाई आँबुखैरेनीमा तथा काठमाडौँतर्फबाट आउने गाडीलाई कुरिनटार नजिकैको रमाइलो डाँडामा रोक्ने गरिएको छ।
प्रहरीले सडक बन्द हुने समय तालिकालाई ध्यानमा राखेर मात्र यात्रा गर्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेको छ।