हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा उपमहानगरपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ।
हेटौँडा उपमहानगरपालिका–२ निवासी ढकाललाई सोमबार उपमहानगरपालिकाले नगद एक लाख रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेको हो। एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै हेटौँडाको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले ढकालको उपलब्धिले हेटौँडाको शान बढाएको बताइन्। उनले उपमहानगरपालिकाले क्रिकेटलगायत विभिन्न खेलकुद क्षेत्रको विकासमा निरन्तर लगानी गर्दै आएको जानकारी दिइन्।
चितवन राइनोजबाट एनपीएल खेलेका तीव्र गतिका बलर ढकालले प्रतियोगिताका नौ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको ‘गोल्डेन क्याप’ जितेका थिए।
उनले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीबापत ओमोडा कार, उत्कृष्ट बलरबापत मोटरसाइकल र सर्वाधिक विकेट लिएबापत नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
सम्मान कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसहित विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति थियो।