हेटाैँडा । जेन्जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदी हेटौँडामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१९ निवासी २३ वर्षीय हर्षित राज मोक्तान रहेका छन्। उनलाई शुक्रबार अपराह्न करिब ४ बजे हेटौँडा–१० स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मोक्तान लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा अदालतबाट ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएका कैदी हुनुहुन्छ।
जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार हुनुभएका मोक्तान आफ्नै घरमा लुकीछिपी बस्दै आउनुभएको थियो। उहाँ बसपार्क क्षेत्रमा आएको सूचना पाएपछि प्रहरीले खोजतलास गरी पक्राउ गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाही तथा बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरीले जनाएको छ।