हेटाैँडा । नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि गाडी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सडक आवागमन बन्द हुनेछ ।
यस समयमा नारायणगढ तर्फबाट चल्ने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट चल्ने गाडीलाई आँबुखैरेनीमा र काठमाण्डौतर्फबाट आएका गाडीलाई कुरिनटार नजिकैको रमाइलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आवश्यक समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।
प्रशासनका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने गरेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गर्ने निर्णय भएको हो ।