काठमाडाैँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि विवादमा तानिएका छन्। अमेरिकी मेजर लिग सकर (एमएलएस) कप प्लेअफअन्तर्गत कोलम्बस क्रुविरुद्धको खेलमा मेसीले थ्रो–इन गर्ने क्रममा विपक्षी खेलाडीमाथि बल प्रहार गरे पनि रातो कार्डबाट जोगिएका हुन्।
शनिबार भएको उक्त खेलमा इन्टर मियामी आफ्नै घरेलु मैदानमा कोलम्बस क्रुसँग ३–० गोलले पराजित भएको थियो। खेलको पहिलो हाफ सकिनै लाग्दा मियामी एक गोलले पछाडि रहेको अवस्थामा मेसीले नजिकै रहेका कोलम्बसका फरवार्ड गोन्जालो तापियाको अनुहारमा बल हानेका थिए।
बल लागेपछि तापिया मैदानमै ढलेका थिए। घटनापछि रेफ्री एलेन च्यापम्यानले मेसी र तापिया दुवैलाई पहेँलो कार्ड देखाएका थिए।
खेलपछि कोलम्बस क्रुका प्रशिक्षक लरेन्ट कोट्र्वाले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मेसीलाई रातो कार्ड नै देखाउनुपर्ने प्रतिक्रिया दिए। पत्रकार सम्मेलनमा उनले मेसीले रातो कार्ड पाउनुपर्ने विषय सबैलाई प्रष्ट रहेको बताए।
यता, रेफ्री च्यापम्यानले भने आफ्नो निर्णयको बचाउ गर्दै बल प्रहार गर्दा प्रयोग गरिएको शक्ति निकै कम रहेकाले त्यसलाई हिंसात्मक व्यवहारको श्रेणीमा राख्न नमिल्ने तर्क गरेका छन्।
अन्तर्राष्ट्रिय फुटबल संघ (आईएफएबी) को नियमअनुसार थ्रो–इनका क्रममा विपक्षी खेलाडीमाथि खेलभावनाविपरीत व्यवहार गरे पहेँलो कार्ड देखाउन सकिन्छ। तर, अत्यधिक बल प्रयोग गरी विपक्षीलाई प्रहार गरिएको पुष्टि भएमा रातो कार्डसमेत देखाउन सकिने व्यवस्था छ।