इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि यो उनको पहिलो छिमेकी देशको राजकीय भ्रमण हो।

​नेपाल वायुसेवा निगमको विमानबाट आज दिउँसो पौने २ बजे प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।

​भ्रमणका क्रममा आजै प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नेछन्। यस्तै, उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुका साथै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्।

​दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासमा आर्थिक सहकार्य बढाउने विषयमा छलफल केन्द्रित हुनेछ। भ्रमणका क्रममा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र (एमओयू) पनि आदानप्रदान गरिनेछ।

​यसैगरी, नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यले भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ। त्यहाँ प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै लगानी आकर्षित गर्न नेपाल सरकारले लिएका नीतिगत प्रयासबारे जानकारी गराउनेछन्।

​राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह भोलि बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क