सुनसरी | हालैको अविरल वर्षाले भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया प्रमीला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो। वर्षासँगै आएको बाढीले उनको घरमा रहेका अन्नपात बगायो भने ओढ्ने ओछ्याउने सामग्री पनि लगातारको झरीले बिग्रिए। बाढीपछिको विपद्का बेला तीन दिनसम्म भोकै बस्नुपरेको पीडा उनले आँसु झार्दै सुनाइन्।
त्यस्तै अवस्था सोही ठाउँकी कुमारी खत्वेको पनि छ। उनी सहायता सामग्री वितरणमा स्थानीय सरकारबाट विभेद भएको बताउँछिन्। कुमारीले सरकारको सहयोग नपाउँदा आफूजस्ता धेरै बाढीपीडितलाई अप्ठेरो परेको गुनासो गरिन्।
भोक्राहा नरसिंह गाउँपालिकाका धेरै बाढीपीडितले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। स्थानीय धीरेन्द्र कामैतका अनुसार राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु १५ हजारका दरले सहयोग गर्ने योजना भए पनि वास्तविक पीडितले उक्त रकम प्राप्त नगरेका छन्।
सोही गाउँपालिका–७ का चमरु मण्डलले पनि आफूजस्ता पीडितले सहयोग नपाएको आरोप लगाए। उनले पहुँचका आधारमा सहायता वितरण गरिएको दाबी गर्दै बाढीपीडितलाई उपेक्षा गरिएको बताए।
यो समस्यापछि, सोमबार भोक्राहा नरसिंह गाउँपालिका–३ का बासिन्दाहरूले वडा कार्यालयमा विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए। स्थानीय ताराचन मण्डलका अनुसार प्रदर्शनकारीहरूले तत्काल समस्या समाधानको माग राखेका छन्।
वडाध्यक्ष धीरेन्द्रकुमार यादवले लाभग्राहीको नाम शुक्रबारसम्म उपलब्ध गराउने र वार्तामार्फत समस्या समाधान गर्ने आश्वासन दिएका छन्। जिल्ला प्रशासन कार्यालयको अनुसार, बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घरपरिवार प्रभावित भएका छन्।