पोखरा | सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारीपछि पोखरामा पार्टी कार्यकर्ताले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले लामिछानेमाथि लागेको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै, केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। प्रदर्शनमा ‘ओली सरकार राजीनामा दे, ओली चोर देश छोड’ जस्ता नाराहरू पोखराका सडकमा गुञ्जिरहेका छन्।
लामिछानेले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अनुसन्धानलाई सहयोग गरिरहेको भनिरहे पनि उनका समर्थकहरूले अदालतको प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरिरहेका छन्। यद्यपि, कतिपय कानूनी विशेषज्ञहरूले भने रास्वपाका कार्यकर्ताहरूको यस्तो क्रियाकलापलाई अनुचित भनेका छन्। वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले अनुसन्धानलाई कुनै पनि हालतमा प्रभावित पार्न नहुने भन्दै अदालतबाटै न्याय मिल्ने कुरामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो, जहाँ उनीमाथि सहकारी ठगी र संगठित अपराधको आरोप लागेको छ। उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्, र आइतबार कास्की जिल्ला अदालतले ६ दिनको म्याद थप गरेको छ। प्रहरीले उनलाई थप अनुसन्धानका लागि म्याद मागेपछि न्यायाधीश नवराज दाहालको इजलासले उक्त आदेश दिएको हो।
पोखरामा लामिछानेका समर्थकहरूले निषेधित क्षेत्र तोड्दै आन्दोलन गरिरहेका छन्। आइतबार सहिदचोकमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । जसका कारण पोखराको सहिदचोक क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीलाई आन्दोलनकारीलाई हटाउन अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्नुपरेको थियो। रवि समर्थकहरूले उनलाई हिरासतमा राखेसँगै लगातार प्रदर्शन गर्दै आएका छन् । जसमा शनिबार मध्यरातमा पनि जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरिएको थियो।
विरोध सभामा रास्वपाका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले सरकारविरुद्ध आक्रोश पोख्दै जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए। आइतबारको विरोध प्रदर्शन पृथ्वीचोकदेखि महेन्द्रपुलसम्म फैलिएको थियो, जसमा ठूलो संख्यामा समर्थकहरूको सहभागिता थियो।
यस्तै, सहकारी पीडितहरू पनि आफ्नो बचत फिर्ताको माग गर्दै पोखरामा प्रदर्शन गरिरहेका छन्। उनीहरूले लामिछाने र अन्यलाई सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाएका छन्। रवि लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको कार्यकारी निर्देशक हुँदा विभिन्न सहकारीका रकम अपचलन गरेको आरोप छ । जसको अनुसन्धान कास्की जिल्ला प्रहरीले गरिरहेको छ।
अदालतमा पुगेका लामिछानेले आफूले कानूनी प्रक्रियामा पूर्ण विश्वास रहेको बताउँदै, न्याय दिने अदालत नै भएको धारणा व्यक्त गरेका छन्। तर, सरकारविरुद्धको आन्दोलनमा उत्रनुपर्ने उनको आह्वानले राजनीतिमा नयाँ तरंग ल्याएको छ। उनका समर्थकहरूले अदालतमा न्याय पाउने विश्वास त राखेका छन् । तर सरकारको षड्यन्त्रका कारण लामिछानेलाई फसाउन खोजिएको दाबी गर्दै दबाबका लागि सडकमा उत्रिएका छन्।
रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पनि अदालतबाट न्याय पाउने कुरामा विश्वास रहेको बताए । तर निर्दोष व्यक्तिलाई फसाउने प्रयास भएकोले सडकबाट दबाब दिनुपर्ने बताएका छन्। यस्तै, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई पनि लामिछानेसँगै जोडिएको छ । जसमा थप अनुसन्धान जारी छ।
तिहार नजिकिँदै गर्दा पोखरामा जारी आन्दोलनले शहरलाई अशान्त बनाएको छ।