काठमाडौं | आज यमपञ्चकको पाँचौं तथा तिहारको विशेष दिन, भाइटीका पर्व, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा विशेष महत्व राख्दछ। आज, दाजुभाइले दिदीबहिनीबाट आशीर्वाद स्वरूप टीका ग्रहण गर्ने परम्परा रहेको छ।
धर्मशास्त्रअनुसार, भाइटीकाको दिन टीका लगाउने र लगाइदिने विधिमा पूर्व र पश्चिम दिशाको महत्व रहने प्राचीन मान्यता रहेको छ। शास्त्रीय नियमअनुसार, दाजुभाइले टीका लगाउनका लागि पूर्व फर्कनु पर्छ भने दिदीबहिनीले पश्चिम फर्केर टीका लगाउनुपर्दछ। यसरी टीका गर्दा उत्तरतर्फ रहेको चन्द्रमा दाहिने पर्ने हुँदा शुभफल प्राप्त हुने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। शुभ कार्यमा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने धार्मिक मान्यता छ।
यद्यपि तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन भए तापनि शास्त्रीय मान्यतामा भने टीकाका रङ पाँचवटा मात्र उल्लेख गरिएको छ। समितिका अध्यक्ष श्री गौतमका अनुसार, तिहारमा लगाइने टीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो रङ्गको प्रयोग गर्नु पर्ने मान्यता छ।
यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको बताइएको छ। दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइसकेपछि दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाएर आशीर्वाद दिने परम्परा छ। दिदीबहिनीलाई पूजा गर्दा उनीहरूमा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।
तिहारको पाँच दिनसम्म मनाइने यमपञ्चक पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आएको छ।