भोजपुर | भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा भ्रमण वर्ष २०२५ को तयारीका लागि विशेष बैठक सम्पन्न भएको छ। बैठकले मुन्दुम ट्रेललाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाउँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य राखेको छ। ट्याम्के मैयुङ गाउँपालिकाको प्रमुख प्रायोजनमा भएको यस बैठकमा गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले नेतृत्व गर्नुभएको थियो।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू, र स्थानीय पर्यटन प्रवर्द्धनसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो। बैठकको उद्देश्य भ्रमण वर्ष २०२५ लाई सफल बनाउन आवश्यक रणनीति निर्माण गर्नु, स्थानीय पर्यटनलाई विश्वसामु चिनाउनु, र पर्यटकको आकर्षण बढाउनु थियो।
भ्रमण वर्ष २०२५ का लागि “ग्रेटर मुन्दुम ट्रेल” को अवधारणा प्रस्तुत गरिएको छ। यो अवधारणाअन्तर्गत खुवालुङदेखि चोमलुङ्गासम्मको क्षेत्रलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउने योजना बनाइएको छ। ट्रेलका विभिन्न ठाउँमा सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटन गतिविधिहरू आयोजना गरेर आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
बैठकमा मुन्दुम ट्रेललाई आकर्षक बनाउन विभिन्न कार्यक्रमहरू प्रस्ताव गरियो। लालीगुराँस महोत्सव
, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन,सांस्कृतिक र साहित्यिक महोत्सव, हनी हन्टिङ, माउन्टेन साइक्लिङ , रुद्राक्ष महोत्सव रहेको छ । यी कार्यक्रमहरूले पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले यो पदमार्गसँग जोडेर पर्यटन प्रबद्र्धनका कामहरु गरिरहेको छ । पर्यटनलाई प्राथमिकतामा राखेका गाउँपालिका अध्यक्ष बस्नेतले पदमार्गलाई पालिकासँग जोडेर भरपुर सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने योजनामा छन् । त्यसकै लागि अध्यक्ष बस्नेतले गएको कार्तिक ४ गते बाट ९ गतेसम्म एउटा फार्म ट्रिपसहित मुन्दुम पदमार्गमा पदयात्राको आयोजना गरिएको थियोे ।
मुन्दुम ट्रेल खोटाङ र भोजपुरको सीमास्थित तावाभञ्ज्याङबाट सुरु हुन्छ। यो ट्रेलले टेम्केडाँडा (३,१६५ मिटर), साल्पापोखरी (३,७५० मिटर), र सिलिचुङ (४,१५४ मिटर) सम्मको क्षेत्र समेटेको छ। यस पदमार्गले पर्यटकलाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुभव गराउनेछ।
टेम्केमैयुङ गाउँपालिकाका प्रशासकीय अधिकृत विकेन पौडेलका अनुसार यस बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकका लागि संरचना निर्माण गरेर पर्यटन प्रवर्द्धनलाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ। उनले मुन्दुम पदमार्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिए ।
कार्यक्रमको मुख्य प्रायोजक ट्याम्के मैयुङ गाउँपालिका हो। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार, यस परियोजनाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको आर्थिक, सांस्कृतिक, र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। पदमार्गलाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ।
मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेश कुमार राईका अनुसार, सात वर्षदेखि मुन्दुम ट्रेलको प्रचारप्रसार भइरहेको छ। भ्रमण वर्ष २०२५ को माध्यमबाट यस ट्रेलले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउँदै नेपालको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
यो पहलले न केवल मुन्दुम ट्रेललाई विश्वसामु चिनाउनेछ, तर स्थानीय अर्थतन्त्र र संस्कृतिमा पनि सकारात्मक प्रभाव पार्नेछ।