Saturday, July 19, 2025
समाजजापानबाट फर्केका अधिकारीको दुखेसो: "लगानी गर्दा स्थानीय सरकार र छिमेकीबाटै असहयोग भयो"

जापानबाट फर्केका अधिकारीको दुखेसो: “लगानी गर्दा स्थानीय सरकार र छिमेकीबाटै असहयोग भयो”

वडा अध्यक्षको भनाइ: 'मैले सक्दो सहयोग गरें, समस्या छिमेकीको'

spot_img

हेटौँडा | जापानमा १० वर्षको मिहिनेतपछि स्वदेश फर्किएर हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने सपना बोकेका एक युवाले स्थानीय सरकारकै असहयोग र छिमेकीको अवरोधका कारण काम गर्ने वातावरण नपाएको गुनासो गरेका छन्। तर, यस विषयमा वडा अध्यक्षले भने आफूले सक्दो सहयोग गरेको र समस्या छिमेकीको असहमतिका कारण आएको जिकिर गरेका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ का दामोदर अधिकारीले आज पत्रकार सम्मेलनमार्फत आफ्नो दुखेसो पोख्दै रिसोर्ट र चार्जिङ स्टेसन खोल्ने आफ्नो योजनामा स्थानीय निकायबाटै अवरोध आएको बताएका हुन्। जापानमा पसिना बगाएर कमाएको रकम आफ्नै ठाउँमा सदुपयोग गरी केही उदाहरणीय काम गर्ने उनको चाहना थियो। उनले प्रारम्भिक चरणमा चार्जिङ स्टेसनका लागि हेटौँडा उपमहानगरपालिका, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरेको र करिब २० लाख रुपैयाँ लगानी समेत गरिसकेको जानकारी दिए।

- Advertisement -

तर, अहिले विभिन्न दलका नेताहरू र स्थानीय बासिन्दाहरूको असहयोगका कारण थप काम अगाडि बढाउन नसकेको उनले बताए। “उपमहानगरपालिकाको प्रत्येक कोठामा चहार्दा पनि काम गर्न सकिएन,” अधिकारीले दुखेसो पोखे, “मैले दुःख गरेर ल्याएको रकमको लगानी गर्न नपाउँदा असाध्यै निराश छु।” उनले लगानी गरेर स्थानीयहरूलाई रोजगारी दिने प्रस्ताव गर्दा पनि विभिन्न बहानामा काम गर्ने वातावरण नै नदिएको आरोप लगाएका छन्। व्यवसायका लागि आवश्यक पर्ने सबै सरकारी प्रक्रियाहरू पूरा गर्दा पनि काम गर्न नपाएपछि आफू पूर्णतः निराश भएको र जिल्ला प्रशासन कार्यालयदेखि अन्य सबै सरकारी कार्यालयहरूमा धाउँदा पनि समस्या समाधान नभएको उनको गुनासो छ।

वडा अध्यक्षको भनाइ: ‘मैले सक्दो सहयोग गरें, समस्या छिमेकीको’

यता, वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीले भने दामोदर अधिकारीको भनाइमा आंशिक असहमति जनाएका छन्। उनले आफूले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिदिएको र वडाबाट पूर्ण रूपमा सहयोग गरेको बताए। केसीका अनुसार, “मैले उहाँले नै भने अनुसार पटक पटक पत्र दिएको छु। व्यापार गर्छु भन्दा राम्रो हो, विदेशबाट आएर यसो गर्छु भन्नुभयो मैले सक्दो सहयोग गरेको छु। अब पोल नै मैले गएर गाड्ने कुरो पनि भएन।”

वडा अध्यक्ष केसीले मुख्य समस्या छिमेकीको अवरोध भएको औंल्याएका छन्। उनले भने, “उहाँको छिमेकीसँग पनि छलफल गरेको हो, मैले सम्झाएको पनि हो। तर, उहाँले काम गर्नुभन्दा पहिला कमसेकम छिमेकीसँग सोध्नु त पर्थ्यो, त्यो गर्नु भएनछ। सबै प्रक्रिया पूरा गरेपछि छिमेकीले अवरोध गरेका हुन्। अब त्यो भन्दा मैले के गर्न सक्छु?”

अधिकारीको यो भनाइ र वडा अध्यक्षको स्पष्टीकरणले स्वदेश फर्केर उद्यम गर्न चाहने युवाहरूले स्थानीय स्तरमा कानुनी प्रक्रियाका साथै सामाजिक र सामुदायिक सहकार्यमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img